logo बुधबार, भाद्र १७ २०८३ | Wednesday 2nd September 2026

रसुवा बाढीबारे प्रतिनिधि सभामा बुधबार विशेष प्रस्ताव प्रस्तुत गरिने


  • जन आकाश
  • मंगलबार, भाद्र १६ २०८३

काठमाडौं । रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिबारे प्रतिनिधि सभाको बुधबार बस्ने बैठकमा विशेष प्रस्ताव प्रस्तुत गरिने भएको छ।



प्रतिनिधि सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले बाढीको विपद्का सम्बन्धमा सभामुख डोलप्रसाद अर्यालका तर्फबाट विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय गरेको नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले जानकारी दिइन्।

भदौ १० गते सूचना जारी गर्दै अनिश्चितकालका लागि स्थगित गरिएको प्रतिनिधि सभाको बैठक संघीय संसद् सचिवालयले पुनः सूचना प्रकाशित गरी बुधबार दिउँसो १ बजेका लागि बोलाएको हो।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार मुलुकमा हुने ठूला तथा संवेदनशील विपद्का घटनामा सभामुखका तर्फबाट विशेष प्रस्ताव प्रस्तुत गर्ने संसदीय प्रचलन रहँदै आएको छ।

बुधबारको बैठकमा विशेष प्रस्ताव प्रस्तुत भएपछि सांसदहरूले दलीय आधारमा बाढीबाट भएको क्षति, उद्धार तथा राहतका विषयमा धारणा राख्नेछन्। साथै, सरकारले बाढीबाट भएको क्षति, खोज तथा उद्धार र राहत वितरणका सम्बन्धमा सदनलाई आधिकारिक जानकारी गराउने तयारी गरेको छ।

भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीले रसुवा लगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार बाढीमा परी हालसम्म ९८७ जनाको शव फेला परेको छ।

प्राधिकरणका अनुसार बाढीमा परी अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन् भने २७९ जना घाइते भएका छन्। बेपत्ता भएकाहरूको खोजी तथा प्रभावित क्षेत्रमा राहत र उद्धारको काम अझै जारी रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend