logo बुधबार, भाद्र १७ २०८३ | Wednesday 2nd September 2026

कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन १० देखि १५ दिन लाग्ने


  • जन आकाश
  • मंगलबार, भाद्र १६ २०८३

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर अवरुद्ध भएको सडक सञ्चालनमा ल्याउन कम्तीमा १० देखि १५ दिन लाग्ने भएको छ।



भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि कृष्णभीर क्षेत्रमा सडकको तल्लो भाग कटान भएको थियो। सडकको तल्लो भाग कटानसँगै माथिल्लो भूभागमा समेत चिरा परेपछि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो।

सडक विभागले राजमार्गलाई उच्च प्राथमिकतामा राख्दै १० देखि १५ दिनभित्र यातायात सञ्चालनमा ल्याउने गरी काम अघि बढाएको जनाएको छ। विभागले प्राविधिक तथा भौगर्भिक विज्ञसहितको टोली कृष्णभीरमा परिचालन गरी सडक तत्काल सञ्चालनमा ल्याउने सम्भावनाबारे अध्ययन थालेको छ।

पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि सडक विभागका सहसचिव चुणाराज ढकालले ठूलो बाढीको बहावले सडकको तल्लो भाग कटान गरेको र माथिल्लो भूभागमा समेत चिरा परेका कारण पहिरो गएको बताए।

उनका अनुसार विज्ञहरूको प्राविधिक राय लिएर सम्भव भएसम्म १० देखि १५ दिनभित्र राजमार्ग सञ्चालनमा ल्याउने प्रयास गरिनेछ। त्यस अवधिसम्म वैकल्पिक रुट तथा स्थानीय सडक प्रयोग गरेर यातायात सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

ढकालले पृथ्वीराजमार्गलाई नेपालको ‘लाइफलाइन’ भएकाले सडक खुलाउन उच्च प्राथमिकता दिइएको बताए। विभागले विज्ञहरूको टोली गठन गरी प्राविधिक रायका आधारमा निर्णय गरेर तत्काल सडक सञ्चालनका लागि आवश्यक सबै कदम चाल्ने उनको भनाइ छ।

सडक विभागले आगामी दिनमा नदी करिडोरमा निर्माण हुने राजमार्गलाई थप दिगो र विपद् प्रतिरोधी बनाउने नीति आवश्यक रहेको जनाएको छ।

सहसचिव ढकालले नदीमा आउने उच्च बहावलाई ध्यानमा राखेर सडकको उचाइ बढाउने, वैकल्पिक लिंक तथा रुट विकास गर्ने, अग्ला पुल निर्माण गर्ने र आवश्यक स्थानमा साना सुरुङ निर्माण गर्नुपर्ने बताए।

उनका अनुसार सुरुआती लागत केही बढे पनि दीर्घकालीन रूपमा टिकाउ हुने प्रविधिमा आधारित सडक संरचना निर्माणलाई प्राथमिकता दिन आवश्यक छ।

सडक विभागका भू–प्राविधिक विज्ञ मधुसुदन आचार्यका अनुसार कृष्णभीरमा गएको पहिरो पुरानै स्लोप फेलियर भएको क्षेत्रमा दोहोरिएको हो।

उनका अनुसार तत्काल सडक सञ्चालनमा ल्याउन माथिल्लो भागमा रहेका जोखिमयुक्त माटो तथा संरचना हटाएर सिंगल लेन डाइभर्सन निर्माण गर्न सकिने सम्भावना छ।

सडक विभागले प्राविधिक अध्ययनपछि सडकको जोखिम मूल्याङ्कन गरी सुरक्षित रूपमा यातायात सञ्चालनमा ल्याउने विकल्पबारे निर्णय गर्ने जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend