logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नुवाकोटको बेत्रावतीमा एउटा घरभित्रै २४ शव फेला


  • जन आकाश
  • मंगलबार, भाद्र १६ २०८३

काठमाडौं । बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा एउटा घरभित्रबाट २४ वटा शव फेला परेका छन्।



जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार सोमबार खोज तथा उद्धारका क्रममा उक्त घरभित्र २४ वटा शव फेला परेका हुन्। घरभित्र थप शव हुन सक्ने आशंकामा खोजी कार्य जारी रहेको उनले बताए।

‘बेत्रावतीको एउटा घरमा २४ वटा शव फेला परेको छ। अरू खोज्दैछौँ। आजसम्म कति वटा छन् भन्ने यकिन विवरण आउँछ,’ एसपी रेग्मीले भने।

एकै घरमा ठूलो संख्यामा शव फेला परेको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। उक्त घर कसको हो र त्यहाँ यति ठूलो संख्यामा मानिस कसरी पुगे भन्नेबारे पनि यकिन भइनसकेको प्रहरीले जनाएको छ।

एसपी रेग्मीका अनुसार घर होटल वा गेस्ट हाउसजस्तो देखिए पनि यसको आधिकारिक पुष्टि हुन सकेको छैन। स्थानीय वडाध्यक्षसँग समेत सम्पर्क हुन नसकेकाले घरधनी तथा भवनको वास्तविक प्रयोजनबारे बुझ्ने प्रयास भइरहेको उनले बताए।

भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको भीषण बाढीले नुवाकोटसहित आसपासका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बाढीपछि हालसम्म ९ सयभन्दा बढी शव फेला परिसकेका छन् भने ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन छन्।

बेपत्ता तथा सम्पर्कविहीनको खोजी र प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend