जन आकाश
काठमाडौं । नेपाली फेसन, बेस्पोक टेलरिङ तथा सुट शिल्पकारिताको क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल युवा उद्यमी एवं सुटमालाका कार्यकारी निर्देशक राज कार्की सम्मानित भएका छन्। राजधानीमा आयोजित एक भव्य समारोहका बीच एभरेस्ट इभेन्टले कार्कीलाई विशेष सम्मान प्रदान गरेको हो।
लामो समयदेखि काठमाडौंको बागबजारलाई केन्द्र बनाएर सुटमालामार्फत फेसन तथा टेलरिङ व्यवसायलाई आधुनिक, समकालीन र उच्चस्तरीय व्यावसायिक स्वरूप प्रदान गर्दै आएका कार्कीको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ।
परम्परागत सिलाइ पेसालाई आधुनिक बजारको माग, गुणस्तरीय शिल्पकारिता र व्यवस्थित व्यवस्थापनसँग जोड्दै कार्कीले नेपाली फेसन बजारमा छुट्टै पहिचान र पहिरनको नयाँ मापदण्ड स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
व्यवसाय सञ्चालनसँगै ब्रान्डिङ, प्रचार–प्रसार तथा सिर्जनात्मक गतिविधिमा समेत कार्कीको सक्रियता रहँदै आएको छ। सुटमालालाई केवल पहिरन उत्पादन तथा बिक्री गर्ने संस्थाका रूपमा मात्र नभई युवामा स्वावलम्बन, उद्यमशीलता र नेतृत्व विकासको भावना जगाउने माध्यमका रूपमा अघि बढाउन उनले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताइएको छ। विभिन्न कर्पोरेट मञ्च तथा व्यावसायिक नेटवर्कमा समेत उनले नेपाली उत्पादन र उद्यमीहरूको प्रतिनिधित्व गर्दै आएका छन्।
व्यावसायिक सफलतासँगै सामाजिक उत्तरदायित्व तथा राष्ट्रिय विकासका अभियानमा समेत कार्की सक्रिय रहँदै आएका छन्। स्थानीय उद्योग, उत्पादन र रोजगारी सिर्जनाले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन महत्वपूर्ण योगदान पुर्याउने मान्यता राख्दै उनले विभिन्न युवा सञ्जाल तथा मञ्चमार्फत नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।
युवामा आत्मनिर्भरता र उद्यमशीलताको भावना विकास गर्न तथा परम्परागत सीपलाई सम्मानित र व्यावसायिक पेसाका रूपमा स्थापित गर्नुपर्ने विषयमा समेत कार्कीले निरन्तर आवाज उठाउँदै आएका छन्।
सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै कार्यकारी निर्देशक कार्कीले यस प्रकारको सम्मानले आगामी दिनमा अझ बढी ऊर्जा, निष्ठा र सिर्जनात्मकताका साथ काम गर्न प्रेरणा मिलेको बताए। प्राप्त सम्मानसँगै आफ्नो जिम्मेवारी थप बढेको उल्लेख गर्दै उनले फेसन, व्यवसाय तथा सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रही नेपाली सुट शिल्पकारितालाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
नेपाली फेसन बजारलाई अत्याधुनिक सेवा र उत्कृष्ट गुणस्तरसहित अघि बढाउने तथा सुटमालाको सेवा देशका विभिन्न क्षेत्रमा विस्तार गर्ने आफ्नो आगामी प्रमुख लक्ष्य रहेको कार्कीले बताए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend