काठमाडौं । विपद् प्रभावित जिल्लामा ‘ग्रीन आर्मी’ नामको समूहको उपस्थिति देखिएपछि यसको आधिकारिकता र सरकारी निकायसँगको समन्वयबारे प्रश्न उठेको छ।
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटमा उद्धारका लागि पुगेको भनिएको उक्त समूहका गतिविधि देखिने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्थानीयले उनीहरूको आधिकारिकतामाथि प्रश्न उठाएका हुन्।
सामाजिक सञ्जाल ‘एक्स’मा सार्वजनिक भएको एउटा भिडियोमा स्थानीयले ‘नेपाल आर्मी भन्ने थाहा थियो, यहाँ त ग्रीन आर्मी पनि रहेछ’ भन्दै टिप्पणी गरेका छन्। भिडियोमा उक्त समूहका सदस्यहरू सैन्य पोसाकजस्तै देखिने चुस्ता लगाएर प्रभावित क्षेत्रमा उपस्थित भएको देखिन्छ।
स्थानीयले उनीहरूबारे प्रश्न गर्दा समूहका एक सदस्यले आफूहरू ‘ग्रीन आर्मी’ भएको र काठमाडौंँबाट आएको बताएका छन्।
नेपाली सेना र प्रहरीका उच्च अधिकारीहरूले भने ‘ग्रीन आर्मी’ नामको उक्त समूहले खोज तथा उद्धारका लागि सरकारी निकायसँग समन्वय गरेको जानकारी आफूहरूलाई नभएको बताएका छन्।
बागमती प्रदेश प्रहरीका डीआईजी दीपक रेग्मीले ‘ग्रीन आर्मी’ प्रभावित क्षेत्रमा पुगेर काम गरिरहेको विषयमा आफूलाई जानकारी नभएको बताए। उनले भने, ‘मलाई जानकारी भएन, म बुझौँला।’
नेपाली सेनाका सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले पनि उक्त समूहबारे आफूलाई जानकारी नभएको बताए। उनले भने, ‘हामी बुझ्दैछौं।’
सामाजिक सञ्जाल फेसबुकमा ‘ग्रीन आर्मी नेपाल काठमाडौंँ’ नामको पेजसमेत सञ्चालनमा रहेको भेटिएको छ। उक्त पेजमा समूहका गतिविधि तथा खोज तथा उद्धारसँग सम्बन्धित सामग्रीहरू पोस्ट गरिएको देखिन्छ।
पेजमा उल्लेख गरिएका विवरणअनुसार स्कुल तथा कलेजका विद्यार्थीहरूलाई समूहमा आबद्ध गराएर संगठन निर्माण गरिएको र उनीहरूलाई विभिन्न खोज तथा उद्धारका गतिविधिमा परिचालन गरिएको देखिन्छ।
यद्यपि, उक्त समूहको आधिकारिकता, विपद् प्रभावित क्षेत्रमा परिचालनका लागि आवश्यक अनुमति तथा सरकारी निकायसँगको समन्वयबारे भने स्पष्ट जानकारी सार्वजनिक भएको छैन।
पेजमा उपलब्ध दुईवटा सम्पर्क नम्बरमा सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन। विपद्का बेला उद्धार तथा राहतका लागि विभिन्न स्वयंसेवी समूह परिचालन हुने भए पनि सरकारी सुरक्षा निकायसँग समन्वय नगरी सैन्य पोसाकजस्तो देखिने पोसाकमा समूहका सदस्यहरू प्रभावित क्षेत्रमा पुगेपछि ‘ग्रीन आर्मी’को गतिविधिबारे थप चासो र प्रश्न उठेको छ।