logo बुधबार, भाद्र १७ २०८३ | Wednesday 2nd September 2026

गृहमन्त्री गुरुङको दाबी– ‘बाढी प्रभावित क्षेत्रमा स्थानीय तह संघीय सरकारसँगै सक्रिय छन्’


  • जन आकाश
  • बुधबार, भाद्र १७ २०८३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रमा स्थानीय तहहरू संघीय सरकारसँग समन्वय गरेर सक्रियतापूर्वक काम गरिरहेको बताएका छन्।



राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १० गते आएको भोटेकोशी–त्रिशूली बाढीपछिको अवस्थाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री गुरुङले संघीय, प्रदेश र स्थानीय सरकार आ–आफ्नो जिम्मेवारीअनुसार उद्धार, राहत तथा व्यवस्थापनमा जुटिरहेको बताएका हुन्।

उनले स्थानीय तहले संघीय सरकारसँग मिलेर काम नगरेको भन्ने बुझाइ सही नभएको बताए। उनका अनुसार वडा, गाउँपालिका र नगरपालिकाहरू प्रभावित क्षेत्रमा आफ्नो जिम्मेवारीअनुसार खटिरहेका छन्।

‘नुवाकोटको विदुर नगरपालिका प्रमुख पनि मसँगै रहेर काम गरिरहनुभएको थियो। स्थानीय पालिकाले संघीय सरकारसँग मिलेर काम गरेको छैन भन्ने लागेको होला। तर स्थानीय तहहरू हामीसँग सक्रिय रहेर नै काम गरिरहनुभएको छ,’ उनले भने।

गृहमन्त्री गुरुङले कतिपय स्थानीय जनप्रतिनिधि आफैं बाढीबाट प्रभावित भएको र केही वडाध्यक्ष तथा जनप्रतिनिधिको अवस्थासमेत यकिन हुन बाँकी रहेको बताए।

उनले तीनै तहका सरकारबीच समन्वयमा उद्धार तथा राहतका काम भइरहेको दाबी गरे। ‘संघीय, प्रदेश र स्थानीय सरकारले आफ्नो जिम्मेवारीअनुसार सक्ने प्रयास गरिरहेका छौं भन्ने लाग्छ। मैले जे देखेँ, त्यही कुरा राखेको हुँ,’ उनले भने।

राहत वितरणमा एकद्वार प्रणाली छैन

गृहमन्त्री गुरुङले बाढी प्रभावित क्षेत्रमा राहत वितरणका लागि एकद्वार प्रणाली लागू नगरिएको स्पष्ट पारे। नागरिक, संघसंस्था तथा विभिन्न निकायले प्रत्यक्ष रूपमा राहत उपलब्ध गराउन सक्ने उनले बताए।

‘राहत वितरण नागरिकहरू आफैं गएर गर्न सक्नुहुन्छ। कतिपय ठाउँमा बाटो नभएको अवस्था छ। त्यस्तो ठाउँमा पनि राहत वितरण गरिएको छ। विभिन्न संघसंस्थाले दिएका राहत पनि वितरण गरिएका छन्,’ उनले भने।

उनका अनुसार बाढी आएको सुरुदेखि नै वडा र स्थानीय तहलाई जिम्मेवार बनाएर राहत वितरणको व्यवस्था मिलाइएको छ।

‘बाढीले केही बाँकी राखेको छैन’

गृहमन्त्री गुरुङले आफू बाढी प्रभावित विभिन्न क्षेत्रको स्थलगत निरीक्षणमा पुगेको बताउँदै क्षतिको अवस्था निकै भयावह रहेको बताए।

उनका अनुसार कतिपय स्थानमा १० देखि २० फिटसम्म दलदल बनेको छ। बाढीले पहाड नै फुटाउनेदेखि भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको उनले बताए।

‘यो बाढीले केही कुरा बाँकी राखेको छैन। यसले गरेको क्षति कल्पना पनि गर्न सकिँदैन। कतिपय ठाउँमा पहाड नै फुटाएको छ,’ उनले भने।

सुरुङभित्र उद्धार प्रयास जारी, ‘अझै आशा बाँकी छ’

गृहमन्त्री गुरुङले बाढीका कारण सुरुङभित्र फसेकाहरूको उद्धारका लागि सरकार सुरुदेखि नै प्रयासरत रहेको बताए। सुरुङभित्र समेत दलदलको अवस्था रहेकाले उद्धार कार्य कठिन बनेको उनको भनाइ छ।

कतिपय प्रभावित क्षेत्रमा दलदलका कारण हेलिकप्टर अवतरण गर्न नसक्ने तथा आवश्यक सामग्री लैजानसमेत कठिनाइ भइरहेको उनले बताए।

सुरुङभित्रको अवस्था बुझ्न विभिन्न टनेलमा ड्रोनसमेत पठाइएको र उद्धार प्रयास अझै जारी रहेको उनले जानकारी दिए।

‘अझै आशा बाँकी नै छ। सुरुङभित्र रहेका मानिस त्यहीँको पानी खाएर रहनुभएको छ कि भन्ने आशा छ। सुरक्षा संयन्त्रले अहिले पनि सुरुङ क्षेत्रमा काम गरिरहेको छ,’ गृहमन्त्री गुरुङले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend