जन आकाश
काठमाडौं । बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध हुँदा यातायात सञ्चालन प्रभावित भएको छ। नेपाल प्रहरीले केही सडकखण्डमा रातको समयमा समेत यातायात सञ्चालनमा रोक लगाइएको जनाएको छ।
भदौ १० गते आएको भोटेकोसी बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड अझै पूर्णरूपमा अवरुद्ध रहेको छ। रसुवाका अन्य मुख्य राजमार्गसमेत बाढीपहिरोका कारण अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
नुवाकोटमा टोखा–छहरे सडक, पासाङ ल्हामु सडक र विदुर–लाच्याङ सडकखण्ड पनि बाढीपहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएका छन्।
त्यस्तै, धादिङमा पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–१ लाच्याङ डाँडा, वडा नं. ७ कृष्णभीर, वडा नं. १० ज्वाङ खोला तथा थाक्रे गाउँपालिका–२ कमेरेभीरमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
यी स्थानमा त्रिशूली नदीले सडक कटान गरेपछि यातायात सञ्चालनमा समस्या आएको हो। सडक कटान तथा भत्किएका संरचनाका कारण तत्काल नियमित यातायात सञ्चालन गर्न कठिनाइ भइरहेको छ।
यसैगरी बाढीपहिरोका कारण लमजुङको बेँसीसहर–मनाङ सडकखण्ड, मुगुको मुगु–गमगढी सडकखण्ड र बैतडीको गोठालापानी–झुलाघाट सडकखण्डसमेत अवरुद्ध भएका छन्।
प्रहरीका अनुसार अवरुद्ध सडकखण्डमा यातायात सञ्चालन सहज बनाउन सम्बन्धित निकाय तथा सुरक्षाकर्मीले सडक खुलाउने प्रयास गरिरहेका छन्। बाढीपहिरोको जोखिम कायमै रहेकाले केही स्थानमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend