जन आकाश
काठमाडौं । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीपछि उत्पन्न विपद् व्यवस्थापनका लागि अमेरिकाले नेपाललाई सुरुङभित्र उद्धारमा प्रयोग गर्न मिल्ने विशेष उपकरणसहित राहत सामग्री पठाएको छ।
अमेरिकाले दुईवटा सैन्य कार्गो जहाजमार्फत बुधबार नेपाल ल्याएका सामग्रीमा सुरुङ तथा कठिन स्थानमा उद्धारका लागि प्रयोग हुने दुईवटा विशेष उपकरणसहित ५ हजार थान विपद् उद्धार सामग्री रहेका छन्। यी सामग्री बाढी तथा पहिरोमा ज्यान गुमाएका वा बेपत्ता व्यक्तिको खोजी तथा उद्धारमा प्रयोग हुने जनाइएको छ।
त्यस्तै, ५ सय वटा प्राथमिक उपचार किट, स्ट्रेचर र फ्रन्ट–एन्ड लोडर समेत नेपाल ल्याइएको अमेरिकी दूतावासले आफ्नो फेसबुकमार्फत जानकारी दिएको छ।
अमेरिकी दूतावासका अनुसार नेपाल सरकारले गरेको अनुरोधपछि उक्त सहायता पठाइएको हो। यसअघि अमेरिकाले बाढी प्रभावितका लागि घोषणा गरेको ३६ लाख अमेरिकी डलर बराबरको सहयोगभन्दा यो थप सहायता हो।
भदौ १० गते आएको बाढीका कारण करिब एक दर्जन जलविद्युत् आयोजनामा कार्यरत झन्डै ९ सय जना हराइरहेका छन्। तीमध्ये केही व्यक्ति जलविद्युत् आयोजनाका सुरुङभित्र थुनिएको आशंका गरिएको छ।
सुरुङभित्र पसेको लेदो र गेग्रानका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। सुरुङभित्रको लेदो तथा गेग्रान हटाउन र बेपत्ताको खोजी तथा उद्धार गर्न अमेरिकाले पठाएका विशेष उपकरण उपयोगी हुने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend