जन आकाश
काठमाडौं, भदौ १७ गते बिहीबार
रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित होटल तथा रेस्टुरेन्ट व्यवसायको तत्काल राहत, पुनर्स्थापना, पुनरुत्थान तथा पर्यटन प्रवर्द्धनका लागि होटल व्यवसायी महासङ्घ, नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ११ बुँदे ज्ञापनपत्र बुझाएको छ । महासङ्घले सरकारसमक्ष प्रस्तुत गरेको उक्त ज्ञापनपत्रमा प्रभावित व्यवसायको विस्तृत क्षति मूल्याङ्कन तथा आधिकारिक अभिलेख निर्माण, सहुलियतपूर्ण पुनर्कर्जा, ब्याजमा विशेष अनुदान, पूर्ण क्षति भएका व्यवसायीका लागि विशेष ऋण राहत, रोजगारी पुनर्स्थापना, विस्थापित व्यवसायीका लागि सुरक्षित स्थानमा दीर्घकालीन लिज, बीमा दाबीको फास्ट–ट्र्याक व्यवस्था, कर तथा नवीकरण शुल्कमा छुटलगायतका विषय समेटेको छ ।
साथै, रसुवाको गोसाइँकुण्ड, लाङटाङ लगायतका प्राकृतिक, धार्मिक तथा साहसिक पर्यटन क्षेत्र, चीनसँग जोडिएको अन्तर्राष्ट्रिय नाका तथा भविष्यमा विकसित हुन सक्ने कैलाश–मानसरोवर पर्यटन सम्भावनालाई दृष्टिगत गर्दै ‘रसुवा पर्यटन पुनरुत्थान तथा प्रवर्द्धन विशेष कार्यक्रम’ सञ्चालन गर्न महासङ्घले माग गरेको छ। महासङ्घले रसुवाको भौगोलिक तथा रणनीतिक महत्त्वलाई दृष्टिगत गर्दै मित्रराष्ट्रसँगको सम्बन्ध र नेपालको परराष्ट्र नीतिलाई पर्यटन प्रवर्द्धनसँग जोडेर अघि बढाउनुपर्नेमा समेत जोड दिएको छ।
परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, प्रदेश तथा स्थानीय सरकार र निजी क्षेत्रबीच समन्वय गरी सीमा क्षेत्रको पूर्वाधार विकास, पर्यटकीय आवागमन सहजीकरण, द्विपक्षीय पर्यटन सहकार्य, गन्तव्यको संयुक्त प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय पर्यटक आकर्षणका कार्यक्रम अघि बढाउन सके रसुवा लगायत उत्तरी सीमावर्ती क्षेत्रको पर्यटन व्यवसायलाई छोटो समयमै पुनरुत्थान गर्दै द्रुत आर्थिक वृद्धितर्फ लैजान सकिने महासङ्घको धारणा छ ।
कोभिड–१९ महामारीका समयमा होटल व्यवसायीहरूले आफ्ना होटलहरूलाई क्वारेन्टाइन तथा आइसोलेसन प्रयोजनका लागि उपलब्ध गराई राज्यको सङ्कट व्यवस्थापनमा महत्त्वपूर्ण सहयोग गरेको स्मरण गराउँदै चितवनमा भएको ठूलो सवारी दुर्घटनापछि मृतकका शव पहिचान तथा व्यवस्थापनका लागि चितवन पुगेका आफन्तजन तथा सम्बन्धित व्यक्तिहरूलाई होटल व्यवसायी सङ्घ चितवनसँग आबद्ध व्यवसायीहरूले निःशुल्क खाना तथा बसोबासको व्यवस्था गरी मानवीय सहयोग गरेका थिए । त्यसैगरी
हाल रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवार, व्यवसायी तथा समुदायका लागि पनि महासङ्घले आफ्नो संस्थागत संयन्त्रमार्फत सहयोग, समन्वय र आवश्यकताको पहिचानलाई निरन्तरता दिइरहेको छ ।
हालको प्राकृतिक प्रकोपका कारण कुनै विदेशी पर्यटक प्रभावित हुने, बाटोमा अलपत्र पर्ने वा तत्काल सुरक्षित बसोबास तथा खानाको आवश्यकता पर्ने अवस्था सिर्जना भएमा नेपाल सरकारका सम्बन्धित निकायले आवश्यक ठानेमा होटल व्यवसायी महासंघ, नेपालले काठमाडौंमा रहेका आफ्ना आबद्ध होटल तथा व्यवसायी संस्थामार्फत मानवीय आधारमा आवश्यक खाना तथा बसोबासको सुविधा उपलब्ध गराउन समेत तयार रहेको जनाएको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन वा अन्य कुनै प्रभावित क्षेत्रको समस्या सम्बन्धित जिल्लाको मात्र विषय नभई समग्र पर्यटन क्षेत्रको अपूररणीय क्षति भएको जनाउँदै यसले होटल व्यवसायी, कर्मचारी, स्थानीय उत्पादन, रोजगारी, पर्यटन पूर्वाधार, पर्यटकीय आवागमन र अन्ततः नेपालको समग्र पर्यटन अर्थतन्त्रलाई प्रभावित गर्दछ विज्ञप्तिमा भनिएको छ । होटल व्यवसायी महासङ्घ, नेपाल पर्यटन गन्तव्य, व्यवसायी, श्रमिक, स्थानीय समुदाय तथा पर्यटकको सुरक्षा र हितसँग जोडिएको व्यापक सामाजिक उत्तरदायित्वका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै प्रभावित क्षेत्रका व्यवसायीहरूको तत्कालीन राहतदेखि दीर्घकालीन पुनर्स्थापना, पुनरुत्थान र पर्यटन प्रवर्द्धनसम्मका विषयलाई आगामी दिनमा पनि निरन्तर रूपमा सरकार, पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, प्रदेश तथा स्थानीय सरकार, वित्तीय तथा बीमा क्षेत्र र अन्य सम्बन्धित निकायसमक्ष उठाउने जनाएको छ । सङ्कटको समयमा व्यवसायीको साथमा उभिने, प्रभावित क्षेत्रको पुनर्स्थापनामा सहकार्य गर्ने तथा नेपालको पर्यटन क्षेत्रको संरक्षण, संवर्द्धन, प्रवर्द्धन र दिगो विकासका लागि संगठित निजी क्षेत्रको जिम्मेवार साझेदारको भूमिका निर्वाह गर्ने पनि महासङ्घले प्रतिबद्धता व्यक्त गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend