logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गौरा पर्वले आपसी सद्भाव र राष्ट्रिय एकता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्छ : राष्ट्रपति पौडेल


  • जन आकाश
  • शुक्रबार, भाद्र १९ २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्व तथा लोक परम्पराले आपसी सद्भाव, सामाजिक एकता र सहिष्णुता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन्।



गौरा पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस्ता सांस्कृतिक पर्वले विविधतामा एकता कायम गर्नुका साथै सामाजिक तथा सांस्कृतिक ऐक्यबद्धता बलियो बनाउन योगदान पुर्‍याउँदै आएको बताएका हुन्।

उनले गौरा पर्वले परिवार र समाजलाई जोड्दै राष्ट्रिय एकता सुदृढ पार्न, मौलिक संस्कृतिको संरक्षण गर्न तथा आध्यात्मिक आस्था र मानवीय जीवनमा सुख–शान्ति कायम गर्न महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरेका छन्।

गौरा पर्व प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म नेपालका पश्चिमी तथा सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइन्छ। यस पर्वमा भगवान् शिव र पार्वती (गौरा)को पूजाअर्चना गर्दै व्रत बस्ने परम्परा रहेको छ।

पर्वका अवसरमा गहुँ, धान, केराउ, मास र गहतलगायत पाँच प्रकारका अन्नबाट तयार पारिएको ‘बिरुँडा’ भगवान्लाई अर्पण गरी प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ। यसले मानवीय जीवन, कृषि संस्कृति तथा पारिवारिक समृद्धिको कामना गर्ने परम्परालाई प्रतिनिधित्व गर्छ।

गौरा पर्वमा स्थानीयवासी गोलबद्ध भएर लोकभाषामा देउडा, धमारीलगायतका सांस्कृतिक गतिविधिमार्फत आफ्ना सुख–दुःख साटासाट गर्ने गर्छन्।

राष्ट्रपति पौडेलले गौरा पर्वले बिछोडिएका जोडीको मिलन हुने, आपसी भाइचारा बढ्ने तथा पति–पत्नीबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास रहेको समेत बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend