logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

देशभर श्रद्धाभक्तिपूर्वक मनाइँदै श्रीकृष्ण जन्माष्टमी


  • जन आकाश
  • शुक्रबार, भाद्र १९ २०८३

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजाआराधना गरी ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्।



द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वासअनुसार यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ तथा रातलाई ‘मोहरात्रि’ भन्ने गरिन्छ। जन्माष्टमीका अवसरमा देशभरका कृष्णमन्दिरमा विशेष पूजाआराधना, प्रवचन, भजनकीर्तनलगायतका कार्यक्रम आयोजना गरिन्छ। भक्तजन महिला तथा पुरुष व्रत बसी रातभर जाग्राम बस्ने परम्परा पनि छ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव समुदायको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको धार्मिक मान्यता छ। श्रीकृष्णले जीवनभर सत्य र सत्कर्मको पक्षमा रही मानव समुदायलाई प्रेरणा दिएको धार्मिक ग्रन्थमा उल्लेख छ।

कुरुक्षेत्रको युद्धका क्रममा अर्जुनलाई श्रीकृष्णले दिएको उपदेशका रूपमा रहेको ‘श्रीमद्भगवद्गीता’ हिन्दू धर्मको पवित्र ग्रन्थका रूपमा मानिन्छ। छोटकरीमा ‘गीता’ भनेर चिनिने यो ग्रन्थ विश्वका धेरै भाषामा अनुवाद भएको धार्मिक ग्रन्थमध्ये एक हो।

श्रीकृष्णले बाल्यकालदेखि नै विभिन्न लीला देखाएको तथा पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको अन्त्य गरेको पौराणिक ग्रन्थमा उल्लेख छ।

जन्माष्टमीका अवसरमा आज पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा विशेष मेला लाग्ने गर्दछ। त्यस्तै काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा रहेको कागेश्वरी मनोहरा नगरपालिकास्थित नवतनधाममा पनि ठूलो संख्यामा भक्तजनको उपस्थिति हुने गर्दछ।

काठमाडौं उपत्यकाका विभिन्न कृष्णमन्दिरमा भक्तजनको भीड लाग्ने तथा धार्मिक संघसंस्थाले श्रीकृष्णको झाँकीसहित शोभायात्रा र रथयात्रा निकाल्ने परम्परा रहेको छ। श्रीकृष्ण जन्माष्टमीका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend