जन आकाश
काठमाडौं । विश्वकै प्रमुख प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले नेपाललाई १ करोड अमेरिकी डलर सहयोग गरेका छन्।
ह्वाङले बाढी तथा पहिरोबाट प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेका हुन्।
१ करोड अमेरिकी डलर नेपाली रुपैयाँमा करिब १ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी हुन्छ। व्यक्तिगत तथा संस्थागत क्षेत्रबाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्राप्त सहयोगमध्ये यो अहिलेसम्मकै ठूलो रकम भएको बताइएको छ।
विपद्को कठिन समयमा नेपाल र नेपालीलाई सहयोग गरेको भन्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले ह्वाङलाई भिडियो सन्देशमार्फत धन्यवाद दिएका छन्। उनले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुग्ने गरी ठूलो रकम प्रदान गरेकोमा ह्वाङप्रति आभार व्यक्त गरेका हुन्।
एनभिडिया कृत्रिम बुद्धिमत्ता (एआई) का लागि आवश्यक चिप, कम्प्युटिङ प्रणाली तथा सफ्टवेयर निर्माण गर्ने विश्वकै अग्रणी प्रविधि कम्पनी हो। कम्पनीका ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) तथा अन्य प्रविधि एआई, डाटा सेन्टर, सुपरकम्प्युटिङ र वैज्ञानिक अनुसन्धानमा व्यापक रूपमा प्रयोग हुँदै आएका छन्।
जेन्सन ह्वाङ एनभिडियाका सहसंस्थापकसमेत हुन्। उनले सन् १९९३ देखि कम्पनीको नेतृत्व गर्दै आएका छन्। ह्वाङको सहयोगसँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा संकलित रकम १० अर्ब रुपैयाँभन्दा बढी पुगेको बताइएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend