जन आकाश
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन तथा राज्य सञ्चालनका क्रममा आफ्नो भौतिक उपस्थितिलाई लिएर भइरहेको आलोचनाको जवाफ दिएका छन्। गृहमन्त्री गुरुङले ‘कुर्सीमा बसेर कागजात समात्ने’ पुरानै शैलीको नेतृत्व खोज्नेहरू ‘गलत युग’मा रहेको टिप्पणी गरेका छन्। उनले यसलाई ‘जेनेरेसन ग्याप’को संज्ञा दिएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा रहेको स्पष्ट पारेका छन्।
उनले लेखेका छन्, ‘यदि पुरानो शैलीमा नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग जोडेर हेर्नुहुन्छ भने, तपाईं गलत युगमा हुनुहुन्छ (जेनेरेसन ग्याप)।’ गुरुङले विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर सञ्चालनमा रहेको र आफूहरूले अनलाइनमार्फत हरेक चार घण्टामा कमान्ड सञ्चालन तथा रणनीतिक बैठक गरिरहेको बताएका छन्।
उनका अनुसार फिल्डको वास्तविक अवस्था नबुझी कुर्सीबाट मात्र नेतृत्व गर्दा देशले वर्षौँदेखि त्यसको परिणाम भोग्दै आएको छ। पुरानै प्रणालीबाट फरक र उत्कृष्ट परिणामको अपेक्षा गर्नेहरूले फेरि पुरानै कार्यशैली अपनाउन दबाब दिएको भन्दै उनले आश्चर्य व्यक्त गरेका छन्।
‘उही पुरानै प्रणालीबाट भिन्न र उत्कृष्ट परिणामको आशा गर्दै केही व्यक्तिहरूले अझै पनि हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ,’ उनले लेखेका छन्।
डिजिटल प्रविधिको प्रयोगबाट प्रशासनिक तथा उद्धारका कामहरू टेबल पछाडि बसेर गर्नेभन्दा छिटो र प्रभावकारी रूपमा भइरहेको गृहमन्त्री गुरुङको दाबी छ।
आलोचकहरूलाई लक्षित गर्दै उनले आफू कहाँ बसेको छु भन्ने विषयमा चिन्ता गर्नुभन्दा कामको परिणाममा ध्यान दिन आग्रह गरेका छन्।
रसुवाको भोटेकोशीमा आएको बाढी र त्यसपछिको उद्धार तथा राहत कार्यमा गृहमन्त्री गुरुङको कार्यशैली र प्रत्यक्ष उपस्थितिलाई लिएर केही राजनीतिक वृत्त तथा सामाजिक सञ्जालमा प्रश्न उठेपछि उनको यो स्पष्टीकरण आएको हो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend