जन आकाश
काठमाडौं । रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि चिनियाँ संस्था चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट (सीएफआरडी) ले २७ टन राहत सामग्री नेपाल ल्याएको छ।
सीएफआरडीले सञ्चालन गरेको ‘८.२६ नेपाल मडस्लाइड रेस्क्यु अपरेसन’ अन्तर्गत पहिलो चरणको राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो।
बाढीको लेदो र ढुंगासहितको तीव्र बहावले बस्ती, सडक, पुल तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुर्याएपछि सीएफआरडीको नेपाल कार्यालयले तत्काल आपतकालीन प्रतिक्रिया संयन्त्र सक्रिय गरी प्रभावित क्षेत्रमा अवस्थाको मूल्यांकन तथा राहत वितरण सुरु गरेको जनाएको छ।
पहिलो चरणमा चीनबाट ल्याइएको राहत सामग्रीमा १७५ वटा त्रिपाल, १ हजार कम्बल, १ हजार न्यानो कपासका कोट, १ हजार आपतकालीन मानवीय राहत बाकस र ६ हजार मेडिकल प्याकिङ ब्याग रहेका छन्।
करिब २७ टन तौलका यी राहत सामग्रीको मूल्य १० लाख चिनियाँ युआनभन्दा बढी रहेको सीएफआरडीले जनाएको छ। नेपाल सरकारको विपद् व्यवस्थापन संयन्त्रसँगको समन्वयमा ती सामग्री रसुवाका बाढी प्रभावित क्षेत्रमा पठाइने संस्थाले जनाएको छ।
यसैगरी सीएफआरडीले नुवाकोट क्षेत्रमा १४ वटा पाल, ५०० खाद्यान्न प्याकेज, ५०० परिवारका लागि जीवनयापन सामग्री तथा ५ हजार सौर्य बत्ती उपलब्ध गराउने काम अघि बढाइसकेको जनाएको छ। खाद्यान्न प्याकेजमा चामल, तेल र दाललगायत दैनिक उपभोग्य सामग्री रहेका छन्।
सीएफआरडीले प्रभावित समुदायको बदलिँदो आवश्यकता र अवस्थालाई ध्यानमा राख्दै आगामी दिनमा पनि मानवीय सहयोगलाई निरन्तरता दिने जनाएको छ।
राहत सामग्री जुटाउन हाइफ्लायर क्वान्ट, बेइजिङ टोङसिनयुआन र झेजियाङ अन्जिहुई लगायतका चिनियाँ उद्यम तथा सहयोगी संस्थाहरूले योगदान गरेका छन्।
नेपालमा सीएफआरडीको मानवीय सहकार्य भने नयाँ होइन। २०७२ सालको विनाशकारी भूकम्पपछि आपतकालीन उद्धार तथा पुनर्निर्माणबाट सुरु भएको संस्थाको संलग्नता पछिल्लो समय समुदाय विकास, युवा तालिम, स्वच्छ खानेपानी, कृषि विकास तथा विपद् व्यवस्थापनसम्म विस्तार भएको छ।
कोभिड–१९ महामारीका साथै जाजरकोट, सिन्धुपाल्चोक र गोरखालगायतका विभिन्न विपद्का घटनामा समेत संस्थाले मानवीय सहयोग उपलब्ध गराएको जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend