logo शनिबार, भाद्र २० २०८३ | Saturday 5th September 2026

संखुवासभामा प्रधानाध्यापकको गोली हानी हत्या, एक जना पक्राउ


  • जन आकाश
  • शुक्रबार, भाद्र १९ २०८३

काठमाडौं । संखुवासभाको मकालु गाउँपालिका–१ वालुङ चिर्खाङमा गोली हानी एक शिक्षकको हत्या गरिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मकालु गाउँपालिका–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानी हत्या गरिएको घटनामा एक जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए।



प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान भने सार्वजनिक गरेको छैन। प्रधानाध्यापक राईमाथि बिहीबार राति गोली प्रहार भएको प्रहरीले जनाएको छ।

विद्यालय परिसरमै बस्दै आएका राई राति खाना खाएर हात धुन बाहिर निस्किएका बेला उनीमाथि गोली प्रहार भएको बताइएको छ। गोली लागेर राईको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मैनालीले बताए।

सिलिचोङ गाउँपालिका–५ याफु घर भएका राई करिब एक वर्षदेखि कालिका आधारभूत विद्यालयमा करार सेवामा प्रधानाध्यापकका रूपमा कार्यरत थिए।

घटनाको जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाउनेलगायतका प्रारम्भिक अनुसन्धान अघि बढाइरहेको छ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतक राईको शव परीक्षणका लागि जिल्ला अस्पताल संखुवासभा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र पक्राउ परेका व्यक्तिसँग सोधपुछ गरी घटनाको कारण तथा गोली प्रहारमा संलग्न अन्य व्यक्तिबारे समेत अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend