logo शनिबार, भाद्र २० २०८३ | Saturday 5th September 2026

दार्चुलामा पहिरोले चमेलिया नदी आधा थुनियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह


  • जन आकाश
  • शुक्रबार, भाद्र १९ २०८३

काठमाडौं । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा पहिरो जाँदा चमेलिया नदी आधा थुनिएको छ।



शुक्रबार गएको पहिरोले चमेलिया नदी आधा थुनिएको जिल्ला प्रशासन कार्यालय, दार्चुलाले जनाएको छ। पहिरो जाने क्रम अझै जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम रहेको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिएका छन्। पहिरोका कारण नदी पूर्ण रूपमा थुनिएमा तल्लो तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै प्रशासनले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सम्भावित जोखिमबाट बच्न तथा धनजनको क्षति न्यूनीकरण गर्न चमेलिया नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक तथा सम्बन्धित निकायलाई सतर्क रहन अनुरोध गरेको हो।

प्रशासनद्वारा जारी सूचनामा भनिएको छ, अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी (चमेलिया) नदीमाथिबाट आएको पहिरोले चौलानी नदी आधा थुनिएको र हाल पहिरो आउने क्रम जारी रहेकाले पूरै थुनिन सक्ने सम्भावना रहेको हुँदा सम्भावित जोखिमबाट बच्न र धनजनको क्षति न्यूनीकरण गर्न उक्त नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरू तथा सम्बन्धित निकायहरूमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ।”

पहिरो जाने क्रम नरोकिएकाले नदीको अवस्था निरन्तर निगरानीमा राखिएको प्रशासनले जनाएको छ। तटीय क्षेत्रका बासिन्दालाई नदीको जलस्तर तथा आसपासको अवस्थाबारे सचेत रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend