जन आकाश
काठमाडौं । उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्याउन चीनले नेपालसँग आपतकालीन जलविज्ञानसम्बन्धी निगरानी सूचना निरन्तर आदानप्रदान गर्ने भएको छ। चिनियाँ पक्षले उपलब्ध गराउने सूचनामा नदीमा बनेका अवरोध (ब्यारियर) तथा हिमतालबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमसम्बन्धी जानकारीसमेत समेटिने चिनियाँ दूतावासले जनाएको छ।
चीनका मौसमसम्बन्धी अधिकारीहरूले चीन–नेपाल सीमाको केरुङ–रसुवा नाकामा भीषण पहिरो गएपछि नेपाललाई मौसम निगरानी, मौसम पूर्वानुमान, पूर्वसूचना तथा त्यसबाट पर्न सक्ने प्रभावसम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएका छन्।
विपद्को घटनापछि चीनको मौसम प्रशासनले नेपालको मौसम विज्ञान विभागसँग भिडियोमार्फत तत्काल मौसमसम्बन्धी परामर्शसमेत गरेको थियो।
चिनियाँ पक्षले मौसम तथा जलविज्ञानसम्बन्धी सूचना निरन्तर उपलब्ध गराउने प्रतिबद्धताले नेपालमा सम्भावित विपद्को जोखिम पहिचान, पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन तथा उद्धार र राहत कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend