logo आइतबार, भाद्र २१ २०८३ | Sunday 6th September 2026

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य लगभग टुंगियो, जीवित थप व्यक्ति भेटिने सम्भावना न्यून


  • जन आकाश
  • आइतबार, भाद्र २१ २०८३

काठमाडौं । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरूङ तथा पावर हाउस क्षेत्रमा सम्भावित सबै स्थानमा खोजी तथा उद्धारको काम गरिए पनि थप व्यक्ति फेला पर्न सकेका छैनन्।



शुक्रबार आयोजनाको सुरूङबाट सप्तरीका सञ्जय साह र काठमाडौंका कवीर महर्जनलाई जीवितै उद्धार गरिएको थियो। सोही क्रममा एक जनाको शवसमेत निकालिएको थियो।

उद्धार कार्यमा खटिएका इन्जिनियर उदयराज न्यौपानेका अनुसार सुरूङ तथा पावर हाउस क्षेत्रमा मानिस जीवितै रहेको हुनसक्ने सम्भावित सबै स्थानमा पटक–पटक खोजी गरिएको छ। तर, थप कोही पनि फेला नपरेको उनले बताए।

“भित्र सम्भावित जीवित हुने सबै ठाउँमा पटक–पटक पुगियो। सबै हेरियो। तर कोही भेटिएन। अब भित्र जीवित अरू भेटिने सम्भावना रहेन,” न्यौपानेले बताए।

उनका अनुसार आयोजनाको सतहमा देखिने तथा सहज रूपमा पुग्न सकिने सबै स्थानमा पनि खोजी गरिसकिएको छ। फसेका मानिसहरू बाहिर निस्कन सफल भए वा बगेका हुन् भन्नेबारे भने यकिन गर्न सकिने अवस्था नरहेको उनले बताए।

“अब भित्रबाट उद्धार हुने अवस्थामा कोही हुनुहुन्न। ढुंगा–माटोभित्र पुरिएको अवस्थामा खनेर केही फेला पर्‍यो भने मात्रै हो,” न्यौपानेले भने।

आयोजनाको सुरूङ तथा पावर हाउस क्षेत्रमा करिब ४० जना फसेको आशंका गरिएको थियो। शुक्रबार दुई जनालाई जीवितै उद्धार गर्नुका साथै एक जनाको शव निकालिएपछि हालसम्म थप कोही फेला परेका छैनन्।

सम्भावित सबै स्थानमा खोजी गर्दा पनि थप व्यक्ति नभेटिएपछि माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको खोजी तथा उद्धार कार्य लगभग टुंगिएको उद्धारमा खटिएका अधिकारीहरूले बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend