जन आकाश
काठमाडौं । ‘समृद्ध रामेछापका लागि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ रामेछाप सांस्कृतिक कलाकार समाज उपत्यका कार्यसमितिको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले विनोद कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
काठमाडौंमा आयोजित अधिवेशनबाट विनोद कार्की निर्विरोध रूपमा अध्यक्ष पदमा निर्वाचित भएका हुन्। यसअघिका अध्यक्ष नवीन गौतमले आफ्नो दुईवर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेसँगै नयाँ नेतृत्व चयन गरिएको हो। नवनिर्वाचित अध्यक्ष कार्कीले संस्थाको उद्देश्यअनुरूप रामेछापको कला, संस्कृति तथा कलाकारहरूको हकहित र प्रतिभा प्रवर्द्धनका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबधता व्यक्त गरेकाछन् ।
रामेछाप जिल्लाका कलाकारहरूलाई एकताबद्ध गर्दै उनीहरूको कला, प्रतिभा र सिर्जनालाई थप उजागर गर्ने उद्देश्यका साथ स्थापित समाजले विगतदेखि नै विभिन्न सांस्कृतिक तथा सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ। उपत्यकामा रहेका रामेछापेली कलाकारहरूबीच आपसी सहकार्य, एकता र भाइचाराको सम्बन्ध विस्तार गर्नुका साथै नयाँ पुस्तामा रहेका प्रतिभाहरूलाई अवसर प्रदान गर्नु पनि संस्थाको प्रमुख उद्देश्य रहेको बताइएको छ।
अधिवेशनमा रामेछाप सांस्कृतिक कलाकार समाजका अध्यक्ष उत्तम पौडेल प्रमुख अतिथिका रूपमा सहभागी थिए। त्यसैगरी, चर्चित कलाकार तथा रामेछाप सांस्कृतिक कलाकार समाजका उपाध्यक्ष गोविन्द गौतम विशेष अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा रामेछाप सांस्कृतिक कलाकार समाजका पूर्वअध्यक्ष रामकुमार पौडेल, जनप्रहार डटकमका सञ्चारकर्मी नेत्र कार्की, खमेश श्रेष्ठलगायत विभिन्न क्षेत्रका कलाकार, सञ्चारकर्मी तथा समाजसँग आबद्ध व्यक्तिहरूको उपस्थिति रहेको थियो।
साधारण सभा तथा अधिवेशनका क्रममा संस्थाले विगतमा गरेका गतिविधिहरूको समीक्षा गर्नुका साथै आगामी दिनमा सञ्चालन गरिने कार्यक्रम र योजनाबारे पनि छलफल गरिएको थियो। सहभागीहरूले रामेछापको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा संस्थाले अझ प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।
अधिवेशनबाट उपाध्यक्षमा शिव सागर खड्का, सचिवमा रामचन्द्र खड्का, सहसचिवमा राम खड्का तथा कोषाध्यक्षमा नवीन घिमिरे चयन भएका छन्।
त्यसैगरी, कार्यसमिति सदस्यहरूमा एमुना बस्नेत, विवेक कार्की, विनय लामा, सुरेश बस्नेत र गोविन्द कार्की चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष विनोद कार्कीको नेतृत्वमा गठित नयाँ कार्यसमितिले रामेछापेली कला, संस्कृति र कलाकारहरूको संरक्षण तथा प्रवर्द्धनका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने विश्वास गरिएको छ। साथै, उपत्यकामा रहेका रामेछापेली कलाकारहरूको प्रतिभालाई राष्ट्रियस्तरसम्म पुर्याउन तथा नयाँ पुस्तालाई कला र संस्कृतिप्रति आकर्षित गर्न नयाँ कार्यसमितिले विशेष पहल गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागी वक्ताहरूले कला र संस्कृति कुनै पनि समाजको पहिचान र सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। रामेछाप जिल्लाको मौलिक संस्कृति र कलालाई देश तथा विदेशसम्म चिनाउन कलाकारहरूको भूमिका महत्वपूर्ण हुने उनीहरूको भनाइ थियो।
अधिवेशनले नयाँ नेतृत्व चयनसँगै संस्थालाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउँदै आगामी दिनमा रामेछापेली कला, संस्कृति र कलाकारहरूको साझा संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend