जन आकाश
काठमाडौं । चुमनुब्री गाउँपालिका–२ र ४ को सीमाबाट बग्ने थोराङ खोलामा आइतबार बिहान लेदोसहितको बाढी आउँदा चार वटा घर, दुई वटा जलविद्युत् आयोजना र एउटा झोलुंगे पुलमा क्षति पुगेको छ।
बिहान करिब साढे ३ बजे आएको बाढीले चुमनुब्री गाउँपालिका–४ नाम्रुङका तीन वटा घर पूर्ण रूपमा बगाएको छ भने एउटा घरमा आंशिक क्षति पुगेको वडा नम्बर ४ का अध्यक्ष पेमा ग्यालपो लामाले जानकारी दिए।
बाढीले १०० किलोवाट क्षमताको नाम्रुङ–थेराङखोला लघुजलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुर्याएको छ। करिब ७ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको उक्त आयोजनाको ड्याम बाढीले फुटाएको छ भने अन्य संरचनामा समेत क्षति पुगेको अध्यक्ष लामाले बताए।
उनका अनुसार उक्त आयोजनाबाट नाम्रुङका करिब ४० घरधुरीले विद्युत् सेवा उपभोग गर्दै आएका थिए। ड्याममा क्षति पुगेपछि विद्युत् उत्पादन तथा आपूर्तिमा समस्या परेको छ।
त्यस्तै, निर्माण सम्पन्न नभइसकेको १५ किलोवाट क्षमताको अर्को जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्याएको छ। बाढीका कारण स्थानीय झोलुंगे पुलमा समेत क्षति पुगेको छ।
बाढीले नाम्रुङका नुर्वु ओङ्ग्याल (नुर्वु छिरिङ), उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घरमा क्षति पुर्याएको हो। तीमध्ये तीन वटा घर पूर्ण रूपमा बगेका छन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बाढीबाट मानवीय क्षति भने भएको छैन।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार खोलाको मुहानतर्फ केही समय खोला थुनिएर लेदोसहितको बाढी एक्कासि आएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
थोराङ खोला बूढीगण्डकी नदीमा मिसिने भएकाले बूढीगण्डकीको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend