जन आकाश
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच आइतबार दिउँसो भेटवार्ता भएको छ। भेटमा कांग्रेसभित्र देखिएको आन्तरिक समस्या समाधान तथा पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल भएको हो।
कोइरालाको सचिवालयका अनुसार भेटमा उनले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेकाले कांग्रेस एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको बताएका थिए। पार्टी एकताका लागि आफ्नो तर्फबाट आवश्यक त्याग गर्न आफू तयार रहेको उनको भनाइ थियो।
जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताको पक्षमा रहेको बताएका थिए। पार्टीलाई एकताबद्ध बनाउन आफूले निरन्तर पहल गरिरहेको उनले बताएका थिए।
भेटवार्तामा भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्र रसुवामा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा उत्पन्न विपत्तिका विषयमा समेत छलफल भएको थियो।
यसअघि सभापति थापाले शनिबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पनि भेटवार्ता गरेका थिए। कांग्रेसभित्रको विवाद समाधानका विषयमा थापा र खड्काबीच भएको छलफल सकारात्मक रहेको कांग्रेसका नेताहरूले बताएका छन्।
पार्टीभित्र बढ्दै गएको असमझदारी समाधान गर्दै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा नेतृत्व तहमा निरन्तर संवाद र छलफल भइरहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend