जन आकाश
काठमाडौं । रसुवा–भोटेकोशीमा आएको भीषण बाढीमा परी कञ्चनपुरको एउटै गाउँका चार जना युवा दुई सातादेखि सम्पर्कविहीन छन्।
रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत चारै जना कञ्चनपुरका हुन्। उनीहरू लालझाडी गाउँपालिका–५ का पदमसिंह साउद (४३), कृष्णपुर नगरपालिका–३ का कालु राना (३०), रिकेश राना (२९) र क्रेशन राना (२३) रहेका छन्।
पारिवारिक स्रोतका अनुसार बाढी आउनुअघि उनीहरू रातिको ड्युटी सकेर बिहान सुतिरहेका थिए। त्यसपछि आएको बाढीमा उनीहरू सम्पर्कविहीन भएका हुन्। बाढी आएको दुई साता बितिसक्दा समेत उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको परिवारजनले बताएका छन्।
चारै जना लामो समयदेखि परिवारको सम्पर्कमा नआएपछि आफन्तहरू गम्भीर चिन्तामा छन्। एउटै गाउँका चार युवा एकसाथ सम्पर्कविहीन भएपछि सिङ्गो गाउँ नै शोकमा डुबेको लालझाडी गाउँपालिका–५ का वडाध्यक्ष पहल थापाले बताए।
उनका अनुसार लामो समय बितिसक्दा पनि उनीहरूको अवस्था पत्ता नलाग्दा परिवारजन थप चिन्तित बनेका छन्। पीडित परिवारले बेपत्ता युवाहरूको खोजी कार्यलाई तीव्रता दिन तथा उनीहरूको अवस्थाबारे यथाशीघ्र जानकारी सार्वजनिक गर्न सरकार, स्थानीय प्रशासन र सम्बन्धित सबै निकायसँग आग्रह गरेका छन्। परिवारजनले आफ्ना आफन्तको खोजीका लागि सम्बन्धित निकायबाट प्रभावकारी पहल र समन्वयको अपेक्षा गरेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend