जन आकाश
काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभिर खण्ड अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति सुरु गरेको जनाएको छ।
निगमका अनुसार काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा त्रिभुवन राजपथ (बाइरोड) हुँदै पेट्रोलियम पदार्थ र एलपी ग्यास भित्र्याइएको हो।
भदौ १४ गते त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भत्किएपछि इन्धन बोकेका ट्यांकर तथा ग्यास बुलेटहरू बाटोमै रोकिएका थिए। त्यसपछि निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगबाट भरिएका एलपी ग्यास सिलिन्डर काठमाडौं ल्याउन थालेको हो।
निगमका अनुसार भदौ १८ गते करिब २४ हजार ५०० सिलिन्डर र भदौ १९ गते करिब ३४ हजार १३४ सिलिन्डर एलपी ग्यास काठमाडौं उपत्यका भित्र्याइएको छ।
यसैबीच, भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा भएको क्षतिपछि जारी खोज तथा उद्धार कार्यका लागि समेत निगमले आवश्यक इन्धन तथा ग्यास उपलब्ध गराउँदै आएको जनाएको छ।
उद्धार कार्यमा खटिएका हेलिकप्टरका लागि नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट हालसम्म १ लाख २० हजार लिटर हवाई इन्धन रिफ्युलिङ गरिएको निगमले जनाएको छ।
त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधमा रसुवा र नुवाकोटका अस्थायी आश्रयस्थलमा ५७५ थान एलपी ग्यास सिलिन्डर पठाइएको निगमले जानकारी दिएको छ।
पृथ्वी राजमार्ग अवरुद्ध भए पनि वैकल्पिक मार्गमार्फत काठमाडौं उपत्यकामा इन्धन तथा ग्यासको आपूर्ति निरन्तर राखिएको निगमले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend