जन आकाश
काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर खसेर दुर्घटना भएको छ।
आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको प्र १–०२–००३ त ३०४८ नम्बरको ट्याक्टर आज बिहान करिब साढे ४ बजे मैवाखोलाको पुलको छेउबाट करिब १५ मिटर तल खसेको हो।
दुर्घटनामा ट्याक्टर चालक मैवाखोला गाउँपालिका–१ का १९ वर्षीय समिर बराइली र उनीसँग रहेका अर्का एक व्यक्ति सकुशल रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
ताप्लेजुङका डीएसपी कमल बजगाईंका अनुसार ट्याक्टर खोलामा खसेपछि चालक बराइली र उनीसँग रहेका व्यक्ति पौडिएर खोलाबाट बाहिर निस्किएका थिए। चालक प्रहरीको सम्पर्कमा आइसकेका छन्।
डीएसपी बजगाईंले भने, ‘चालक बराइली र उनीसँग रहेका एक व्यक्ति पौडेर खोलाबाट निस्किएका रहेछन्। चालक प्रहरीको सम्पर्कमा आइसकेका छन्। चालक बराइलीका भनाइअनुसार उनीसँग रहेका व्यक्ति पनि सकुशल छन्। उनलाई पनि प्रहरीको सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ।’
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक विन्देश्वर यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ।
खोलाको बीच भागमा रहेको ट्याक्टर निकाल्न आवश्यक पहल भइरहेको डीएसपी बजगाईंले बताए।दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend