जन आकाश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि सोमबार नुवाकोटको विदुर पुगेका छन्।
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न राष्ट्रपति पौडेल विदुरस्थित श्री नं. १ सैन्य तालिम केन्द्र पुगेका हुन्।
त्यहाँ उनले जिल्लास्थित सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग बाढीपछिको वर्तमान अवस्थाबारे जानकारी लिएका छन्।
राष्ट्रपतिले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन तथा प्रभावितको व्यवस्थापन लगायतका विषयमा जानकारी लिएका हुन्।
राष्ट्रपति पौडेलले बाढी प्रभावित क्षेत्र तथा होल्डिङ सेन्टरको स्थलगत अवलोकन गर्नुका साथै त्यहाँ रहेका बाढी प्रभावित नागरिकसँग भेटेर उनीहरूको अवस्था र समस्याबारे समेत जानकारी लिएका छन्।
गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले नुवाकोटसहित आसपासका जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढीका कारण सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ।
बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय तहलगायतका निकायले खोज तथा उद्धार, राहत वितरण र प्रभावितको व्यवस्थापनको काम गरिरहेका छन्।
राष्ट्रपति पौडेलको स्थलगत अवलोकनले बाढी प्रभावितको अवस्था, राहत तथा पुनर्स्थापनाका लागि आवश्यक पहलका विषयमा थप ध्यानाकर्षण हुने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend