जन आकाश
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित जलविद्युत आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोजी सुरुङ ‘ब्रेक थ्रु’ नभएसम्म जारी रहने नेपाली सेनाले जनाएको छ।
सोमबार सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले सरकारले खोजी रोक्ने निर्णय नगरेसम्म सबै प्रभावित सुरुङमा निरन्तर खोज तथा उद्धार गरिने बताए। ‘जबसम्म टनेलहरू ब्रेक थ्रु हुँदैन, तबसम्म खोज जारी रहन्छ,’ सहायक रथी थापाले भने।
भोटेकोशीमा आएको बाढीबाट रसुवा र नुवाकोटका जलविद्युत आयोजनाका सुरुङ तथा आयोजना क्षेत्रमा ठूलो क्षति पुगेको छ। ती क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी तथा विदेशी उद्धारकर्मीको संयुक्त टोलीले खोज तथा उद्धार गरिरहेको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)का अनुसार बाढीबाट रसुवा र नुवाकोटका ११ वटा जलविद्युत आयोजना प्रभावित भएका छन्। आयोजना स्थल तथा विद्युत् सुरुङमा रहेका८९८ जना सम्पर्कविहीन भएको इपानले जनाएको छ।
रसुवामा रसुवागढी जलविद्युत आयोजना, रसुवा–भोटेकोशी, माथिल्लो मेलुङ–ए, लाङटाङ खोला, चिलिमे र मेलुङ खोला जलविद्युत आयोजना प्रभावित भएका छन्। त्यस्तै, नुवाकोटमा त्रिशूली जलविद्युत आयोजना, देवीघाट जलविद्युत आयोजना, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो त्रिशूली–३ बी र मिडल त्रिशूली गङ्गा जलविद्युत आयोजना बाढीबाट प्रभावित भएका छन्।
संयुक्त उद्धार टोलीले माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङबाट एक जना चिनियाँ नागरिकलाई जीवितै उद्धार गरेको छ।
सेनाका सहायक रथी थापाका अनुसार उद्धार टोलीले सुरुङभित्र करिब ११५ मिटर भित्रबाट ती चिनियाँ नागरिकलाई जीवितै उद्धार गरेको हो।
२१६ मेगावाट क्षमताको उक्त आयोजनाको सुरुङभित्र उद्धार गर्न पुग्दा उद्धारकर्मीलाई समेत अक्सिजनको आवश्यकता परेको उनले बताए।
‘माथिल्लो त्रिशूली–१ मा हाम्रो र कोरियन उद्धारकर्मी संयुक्त रूपमा भित्र गएका थियौँ,’ थापाले भने।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend