logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

‘सुशासन छैन भने दुई तिहाइ बहुमतले पनि सरकारलाई स्थिरता दिन सक्दैन’ : सुशीला कार्की


  • जन आकाश
  • मंगलबार, भाद्र २३ २०८३

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकारसमेत स्थिर रहन नसक्ने सन्देश जेन–जी आन्दोलनले दिएको बताएकी छन्।



जेन–जी आन्दोलन भएको एक वर्ष पूरा भएको अवसरमा मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै कार्कीले उक्त आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको बताइन्।

उनले राजनीतिक स्थायित्व केवल संसदीय अंकगणितबाट नभई शासकको चरित्र, कार्यशैली र जनताप्रतिको जवाफदेहिताबाट निर्धारण हुने उल्लेख गरेकी छन्।

कार्कीले लेखेकी छन्, ‘जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको छ—सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन। राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ।’

उनले सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, विधिको शासन स्थापित गर्न तथा नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्नुपर्नेमा जोड दिएकी छन्।

कार्कीले भदौ २३ गतेको जस्तो घटना आगामी दिनमा फेरि कहिल्यै दोहोरिन नहुने बताएकी छन्। साथै, सुशासन र परिवर्तनका लागि जनताले पुनः सडकमा उत्रिनुपर्ने अवस्था सिर्जना हुन नदिन सबैले आ–आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिएकी छन्।

उनले भनेकी छन्, अब त्यस्तो दिन कदापि दोहोरिनुहुँदैन। सुशासन र परिवर्तनका लागि जनता फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन आ–आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं।’

कार्कीको यो भनाइ जेन–जी आन्दोलनको एक वर्ष पुगेको सन्दर्भमा आएको छ। आन्दोलनले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, राजनीतिक जवाफदेहिता र राज्यको कार्यशैली सुधारका प्रश्न अझै पनि नेपाली राजनीतिका प्रमुख बहसका विषय बनेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend