जन आकाश
काठमाडौं । बाढीपीडितको राहत, पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ।
केन्द्रले प्रभावित समुदायको पुनर्निर्माण तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो। केन्द्रका तर्फबाट राजयोगिनी दिदी किरणले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेकी थिइन्।
यसैबीच, ब्रह्माकुमारी नेपालले भदौ २० गते शनिबार भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रमसमेत आयोजना गरेको थियो।
ललितपुरको सातदोबाटोस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय स्विमिङ कम्प्लेक्सको हलमा आयोजित कार्यक्रममा एक हजारभन्दा बढी राजयोगी तपस्वी, प्रजापिता ब्रह्माकुमारी तथा ब्रह्माकुमारहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले ‘ॐ’ ध्वनिसहित योग–तपस्या, मौनधारण तथा दीप प्रज्वलन गर्दै बाढीमा ज्यान गुमाएका दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। साथै, शोकसन्तप्त परिवारजनलाई धैर्य र शान्ति प्राप्त होस् भन्ने कामनासहित प्रार्थना गरिएको थियो।
रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोटको त्रिशूली तथा देवीघाट र धादिङलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढी प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था र नागरिक तहबाट सहयोग जुट्ने क्रम जारी छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend