logo मंगलबार, भाद्र ३० २०८३ | Tuesday 15th September 2026

जलविद्युत् आयोजनाको सुरक्षाका लागि ६ बुँदे नयाँ अवधारणा


  • जन आकाश
  • मंगलबार, भाद्र ३० २०८३

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलविद्युत् तथा विकास आयोजनाको सुरक्षा मजबुत बनाउन ६ बुँदे नयाँ सुरक्षा अवधारणा अघि सारेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट जलविद्युत् आयोजनामा ठूलो क्षति भएपछि मन्त्रालयले आयोजनाको सुरक्षा र विपद् पूर्वतयारीलाई प्राथमिकता दिएको हो।



ऊर्जामन्त्री विराजभक्त श्रेष्ठका अनुसार आयोजनाको निर्माण, सुरक्षा र व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ नीतिगत व्यवस्था अघि बढाइएको छ।

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार प्रस्तावित ६ बुँदे सुरक्षा अवधारणामा अनिवार्य संरचनागत बीमा, एक आयोजना–एक सुरक्षा अधिकारी, नियमित उद्धार तालिम, आकस्मिक योजना, न्यूनतम आवश्यकता सूची र सुरुङको पुनर्संरचना समेटिएका छन्।

अब प्रत्येक आयोजनाले अनिवार्य रूपमा संरचनागत बीमा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। त्यस्तै, आयोजनामा सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि एक आयोजना, एक सुरक्षा अधिकारीको व्यवस्था गरिनेछ।

आकस्मिक तथा विपद्को अवस्थामा तत्काल उद्धार गर्न आयोजनाका कामदारलाई नियमित रूपमा उद्धार तालिम दिइनेछ। सम्भावित दुर्घटना तथा प्राकृतिक विपद् सामना गर्न स्पष्ट आकस्मिक योजना पनि अनिवार्य बनाइनेछ।

त्यस्तै, पावर हाउसमा कम्तीमा ३० दिनसम्म पुग्ने खाद्यान्न तथा अत्यावश्यक सामग्री भण्डारण गर्न न्यूनतम आवश्यकता सूची तयार गरी लागू गर्ने प्रस्ताव गरिएको छ।

मन्त्रालयले सुरुङमार्गको सुरक्षा र स्थायित्वलाई ध्यानमा राख्दै आवश्यकताअनुसार सुरुङको पुनर्संरचना गर्ने विषयमा समेत छलफल अघि बढाएको जनाएको छ। मन्त्रालयका अनुसार यी व्यवस्थाले आयोजनाका भौतिक संरचना तथा श्रमिकको सुरक्षा मजबुत बनाउनुका साथै विपद् तथा आपत्कालीन अवस्थाको सामना गर्न आयोजनालाई थप सक्षम बनाउनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend