logo मंगलबार, भाद्र ३० २०८३ | Tuesday 15th September 2026

भोटेकोशी बाढीपछि उद्धारबारे सरकारलाई रमेश मल्लको प्रश्न : ‘कति सुरुङमा खोजी सकियो?’


  • जन आकाश
  • मंगलबार, भाद्र ३० २०८३

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा भइरहेको खोज तथा उद्धार कार्यबारे सरकारसँग जवाफ मागेका छन्।



प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद मल्लले बाढीपछि बेपत्ता नागरिकको अवस्था, सुरुङमा भइरहेको खोजी तथा प्रभावित परिवारको पुनर्स्थापनाबारे सरकारको ध्यानाकर्षण गराएका हुन्।

मल्लले जलविद्युत् आयोजनाका सुरुङमध्ये कति वटा सुरुङमा खोज तथा उद्धार कार्य सम्पन्न भयो र कति वटामा अझै जारी छ भन्ने प्रश्न गरे। उनले २१६ जना बेपत्ता रहेको माथिल्लो त्रिशूली आयोजनाको अवस्थाबारे पनि सरकारसँग जानकारी मागे।

उनले धेरै परिवार बेपत्ता आफन्तको अन्तिम संस्कारका लागि डीएनए परीक्षणको रिपोर्ट पर्खिरहेको भन्दै परीक्षण कहिलेसम्म सकिन्छ र परिवारले आधिकारिक रूपमा पहिचानको जानकारी कहिलेसम्म पाउने भन्ने प्रश्न गरे।

त्यस्तै, मृतक तथा बेपत्ता नागरिकका परिवारका लागि सरकारले राहत तथा पुनर्स्थापनाको प्याकेज कहिलेसम्म घोषणा गर्छ भन्ने विषयमा पनि उनले जवाफ मागे।

मल्लले होल्डिङ सेन्टरमा रहेका बालबालिकाको नियमित पठनपाठन कहिलेदेखि सुरु हुन्छ भन्ने प्रश्न गर्दै प्रभावित बालबालिकाका लागि तत्काल मनोसामाजिक परामर्श र किशोरी सुरक्षाका कार्यक्रम सञ्चालन गर्न माग गरे।

उनले एसईई दिने प्रभावित विद्यार्थीका लागि विशेष प्याकेजसहितको कक्षा सञ्चालन गर्नुपर्ने र अभिभावकविहीन बालबालिकाको संरक्षण तथा शिक्षाको जिम्मेवारी संघीय सरकारले लिने एकरूप नीति तत्काल घोषणा गरी कार्यान्वयन गर्नुपर्ने बताए।

त्यसैगरी, बाढीबाट क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माण कहिलेसम्म सम्पन्न हुन्छ भन्ने स्पष्ट समयसीमा दिन सरकारसँग माग गर्दै मल्लले क्षतिग्रस्त विद्यालय र स्वास्थ्य संस्थाको पुनर्निर्माण तथा घरबारविहीन परिवारका लागि आवास र दीर्घकालीन पुनर्स्थापनाको ठोस योजना ल्याउनसमेत आग्रह गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend