logo मंगलबार, भाद्र ३० २०८३ | Tuesday 15th September 2026

अस्पतालको आईसीयूमा अन्तर्वार्ता लिएको विषयमा सांसद बाँस्कोटाको प्रश्न


  • जन आकाश
  • मंगलबार, भाद्र ३० २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बाँस्कोटाले अस्पतालको आईसीयूमा अन्तर्वार्ता लिएको घटनाबारे प्रतिनिधि सभाको आजको बैठकमा प्रश्न उठाएकी छन्।



केही दिनअघि सञ्चारकर्मी सुरजसिंह ठकुरीले ‘इन्साइड द बंकर’ नामक युट्युब च्यानलका लागि सुरुङबाट १० दिनपछि जीवितै उद्धार गरिएका दुई जनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमा पुगेर अन्तर्वार्ता लिएका थिए।

सांसद बाँस्कोटाले आईसीयू जटिल अवस्थाका बिरामीको उपचारका लागि छुट्याइएको संवेदनशील कक्ष भएको भन्दै त्यहाँ अन्तर्वार्ता लिनु वा त्यसका लागि स्वीकृति दिनु कति नैतिक अभ्यास हो भन्ने प्रश्न उठाइन्।

उनले अन्तर्वार्ताका क्रममा ती दुई बिरामीबाहेक अन्य बिरामी पनि आईसीयूमा थिए कि थिएनन् भन्नेबारे समेत स्पष्ट हुनुपर्ने बताइन्। अन्य बिरामी पनि उपचाररत रहेको अवस्थामा क्यामेरा, क्यामेराम्यानलगायतका व्यक्तिको उपस्थितिले उनीहरूको स्वास्थ्य र जीवनमा जोखिम निम्त्याउन सक्ने उनको भनाइ छ।

बाँस्कोटाले भनिन्, “मानिसको जीवनभन्दा ठूलो कुनै कन्टेन्ट, कुनै अन्तर्वार्ता वा भ्युज हुँदैन। मानव जीवनलाई टीआरपीमा तौलिने काम बन्द हुनुपर्छ।”

आईसीयूजस्तो क्रिटिकल केयर युनिटमा अन्तर्वार्ता सञ्चालन गर्दा सम्बन्धित चिकित्सक तथा निकाय कति संवेदनशील र गम्भीर बने भन्ने विषय पनि महत्वपूर्ण रहेको उनले बताइन्।

सांसद बाँस्कोटाले सरकारले मेडिकल लापरबाहीसम्बन्धी विधेयक छिट्टै ल्याउनुपर्ने मागसमेत गरेकी छन्।

यसैबीच, उक्त घटनाप्रति प्रेस काउन्सिल नेपालले पनि ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलले घटनाबारे अस्पताल, मेडिकल काउन्सिल र सञ्चारकर्मी सुरजसिंह ठकुरीलाई पत्राचार गरेको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend