logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

देवघाटका भूमिहीन दलित र सुकुम्वासीले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा


  • जन आकाश
  • बिहिबार, असोज १ २०८३

 काठमाडौं । वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा पाउने प्रतीक्षामा रहेका देवघाट गाउँपालिका–१ का भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीको लामो समयदेखिको सपना पूरा भएको छ। बुधबार आयोजित कार्यक्रममा उनीहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो।



देवघाट गाउँपालिका–१ को कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला भूमि समस्या समाधान समिति तनहुँले लामो समयदेखि घर बनाएर बसोबास तथा खेतीपाती गर्दै आएका भूमिहीन दलित र सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा हस्तान्तरण गरेको हो। आफ्नो नाममा जग्गा नरहेको अवस्थामा वर्षौँ बिताएका लाभग्राहीले पुर्जा हातमा पाएपछि खुसी व्यक्त गरेका छन्।

जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेकी मिनुमाया गुरुङले वर्षौँदेखि बसोबास गर्दै आएको जमिनको स्वामित्व आफ्नो नाममा आएपछि ठूलो राहत महसुस भएको बताइन्। “वर्षौँदेखि यही जमिनमा बस्दै आएका थियौँ। आफ्नो नाममा जग्गा छैन भन्ने पीडा थियो। आज लालपुर्जा हातमा पर्दा बल्ल यो जमिन साँच्चिकै आफ्नै भएको महसुस भएको छ,” उनले भनिन्।

स्थानीय सुनिता दर्जीले यसअघि पनि पटक–पटक भूमि आयोग गठन भए पनि आफ्नो हातमा पुर्जा आउन नसकेको बताइन्। यसपटक भने लामो समयदेखिको प्रतीक्षा पूरा भएको उनको भनाइ छ। आफ्नो नाममा जग्गाको प्रमाण पुगेपछि बसोबास र भविष्यप्रतिको चिन्ता कम भएको उनले बताइन्।

समितिले मिनुमाया गुरुङ, सुशीला गुरुङ, छविलाल गुरुङ, बुद्धबहादुर परियार, सोमबहादुर दमै, सुनिता दर्जी, सुरज दमाईं, एकबहादुर दर्जी, विष्णुबहादुर माझी र होममाया परियारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला भूमि समस्या समाधान समिति तनहुँका अध्यक्ष शिवलाल तिवारी, देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र उपाध्यक्ष भुवनसिंह गुरुङले लाभग्राहीलाई प्रमाणपुर्जा हस्तान्तरण गरेका थिए।

प्रजिअ तिवारीले लामो समयदेखि जग्गाको स्वामित्वको प्रमाण पाउन नसकेका नागरिकले अब कानुनी रूपमा आफ्नो जग्गामाथिको अधिकार प्राप्त गरेको बताए। भूमिहीन दलित तथा सुकुम्वासीको समस्या समाधान गर्नु राज्यको महत्वपूर्ण दायित्व रहेको उल्लेख गर्दै उनले जग्गाधनी प्रमाणपुर्जा प्राप्त भएपछि नागरिकको स्वामित्व सुनिश्चित हुनुका साथै सामाजिक र आर्थिक सुरक्षामा समेत सहयोग पुग्ने बताए।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले वर्षौँदेखि समाधान हुन नसकेको भूमिहीन तथा सुकुम्वासीको समस्या समाधानतर्फ यो महत्वपूर्ण उपलब्धि भएको बताए। स्थानीय तहले नागरिकलाई जग्गाको स्वामित्व दिलाउने प्रक्रियामा आवश्यक सहजीकरण गर्दै आएको उल्लेख गर्दै उनले बाँकी भूमिहीन परिवारलाई पनि क्रमशः प्रक्रियामा समेटिने बताए।

जिल्ला भूमि समस्या समाधान समितिले गत भदौ २५ गते देवघाट गाउँपालिका–१ का भूमिहीन दलित तथा सुकुम्वासीलाई जग्गा दर्ताका लागि निवेदन दिन आह्वान गर्दै सातदिने सूचना जारी गरेको थियो। सोही सूचनाका आधारमा आवश्यक प्रक्रिया पूरा गरी लाभग्राहीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो।

प्रमुख जिल्ला अधिकारी तिवारीका अनुसार विद्यमान कार्यविधिअनुसार भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई उनीहरूले हाल उपभोग गर्दै आएको जग्गामध्ये पहाडी क्षेत्रमा बढीमा पाँच रोपनी १४ आनासम्म जग्गा निःशुल्क उपलब्ध गराउने व्यवस्था छ। सोही व्यवस्थाअनुसार योग्य लाभग्राहीलाई जग्गाको स्वामित्व हस्तान्तरण गरिएको हो।

वर्षौँदेखि आफ्नै घर र जमिनमा बसोबास गरे पनि कानुनी स्वामित्वको प्रमाण नभएका परिवारका लागि जग्गाधनी प्रमाणपुर्जा प्राप्त हुनु बसोबासको सुरक्षा र भविष्यको आधार बनेको स्थानीयको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend