logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

आगजनीमा नष्ट भएका ३१ हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम


  • जन आकाश
  • बिहिबार, असोज १ २०८३

काठमाडौं । भूमि प्रशासन कार्यालय नेपालगन्ज, बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनीबाट जलेर नष्ट भएका ३१ हजार १८९ जग्गाको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) को स्रेस्ता कायम गरेको छ।



विसं २०८२ भदौ २४ गते नेपालगन्जस्थित भूमि प्रशासन कार्यालयमा भएको आगजनीबाट कार्यालय भवनसँगै महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएका थिए। त्यसपछि असोज र कात्तिक दुई महिनासम्म सेवा बन्द भएको कार्यालयले मंसिर १ गतेदेखि भाडाको भवनबाट सेवा पुनः सञ्चालन गरेको थियो।

कार्यालय प्रमुख सन्तोष विकका अनुसार गत मंसिरदेखि २०८३ असार मसान्तसम्म ३१ हजार १८९ जग्गाको स्रेस्ता कायम गरिएको हो। आगजनीबाट नष्ट भएका अभिलेख पुनः कायम गर्ने काम तीव्र रूपमा भइरहेको उनले बताए।

“आगजनीबाट जलेर नष्ट भएका स्रेस्ता कायम गर्ने काम धमाधम भइरहेको छ। हाम्रोतर्फबाट सकेसम्म सहज रूपमा सेवा प्रवाह गरिरहेका छौँ,” विकले भने।

उनका अनुसार एकैपटक धेरै सेवाग्राही कार्यालयमा पुग्दा भीडभाड हुने गरे पनि सेवा प्रवाहमा समस्या नहुने गरी काम भइरहेको छ।

विसं २०७४ पछिका अभिलेख डिजिटल प्रणालीमा सुरक्षित रहेकाले ती स्रेस्ता कायम गर्न तुलनात्मक रूपमा सहज भएको कार्यालयले जनाएको छ। तर २०७४ भन्दा अगाडिका जग्गाका अभिलेखमा रोक्का रहे–नरहेको यकिन गर्नुपर्ने भएकाले त्यस्ता स्रेस्ता कायम गर्न पत्रिकामा सूचना प्रकाशन गर्नेलगायत प्रक्रियागत काम गर्नुपर्ने हुँदा समय बढी लाग्ने गरेको विकले बताए।

कार्यालयले सेवाग्राहीलाई आवश्यक सहयोगका लागि सेवाग्राही सहायता कक्ष समेत सञ्चालनमा ल्याएको छ। सेवा प्रक्रियाबारे जानकारी नहुँदा सेवाग्राही अलमलमा पर्ने गरेको भन्दै कार्यालय प्रमुख विकले आवश्यक सहयोग लिन सहायता कक्षमा सम्पर्क गर्न आग्रह गरेका छन्।

लेखापढी व्यवसायीमार्फत सेवा लिँदा सेवाग्राहीलाई थप आर्थिक भार पर्न सक्ने भएकाले नागरिक सहायता कक्षमार्फत आवश्यक प्रक्रिया पूरा गर्नसमेत उनले आग्रह गरेका छन्।

विभागको अनलाइन प्रणालीमा प्राविधिक समस्या आएको अवस्थामा बाहेक अन्य समयमा सेवाग्राहीको काममा ढिलासुस्ती नहुने गरी सेवा प्रवाह भइरहेको कार्यालयको दाबी छ।

आगजनीपछि भूमि प्रशासन कार्यालय नेपालगन्ज, बाँकेले हाल विद्युत्रोडस्थित भाडाको भवनबाट सेवा सञ्चालन गर्दै आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend