जन आकाश
काठमाडौं । रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ वटा शव निकालिएको छ।
नेपाली सेनाका अनुसार आयोजनाबाट सम्पर्कविहीन व्यक्तिहरूको खोजी गर्ने क्रममा अडिट–३ टनेलभित्र ढलानका लागि बुनिएको डन्डीको जालीमा अल्झिएको अवस्थामा ६ वटा शव फेला परेका हुन्।
आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले ग्राइन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरण प्रयोग गरी शव बाहिर निकालेको सेनाले जनाएको छ। टनेलभित्र हिलोले छोपिएको अवस्थामा थप शवजस्तो आकृति देखिएकाले सो क्षेत्रमा खोजी कार्य जारी रहेको बताइएको छ।
बिहीबारसम्मको तथ्यांकअनुसार बाढीपछि माथिल्लो त्रिशूली–१ आयोजनाबाट ४९२ जना सम्पर्कविहीन छन् भने ९३६ जना सम्पर्कमा आएका छन्। आयोजनामा कुल १ हजार ४३३ जना जनशक्ति कार्यरत थिए।
कोरियाली लगानीमा निर्माण भइरहेको माथिल्लो त्रिशूली–१ आयोजनामा बाढीपछि अन्य आयोजनाको तुलनामा सबैभन्दा धेरै मानिस सम्पर्कविहीन रहेको जनाइएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend