logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

एमाले पुनर्गठन विवाद चर्किँदै, सहमति जुटाउन आज कार्यदल र सचिवालय बैठक


  • जन आकाश
  • आइतबार, असोज ४ २०८३

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको सचिवालय बैठक आज बिहान बस्दैछ। एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ।



पार्टी पुनर्गठनको विषयमा नेतृत्वबीच सहमति जुट्न नसकेपछि एउटै प्रतिवेदन तयार गर्ने उद्देश्यले बैठक बोलाइएको हो। बैठकमा नेता प्रदीप ज्ञवालीले तयार पारेको २९ पृष्ठको छुट्टै प्रतिवेदनसमेत पेस हुने बताइएको छ। अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा कार्यदलमा नरहेका ज्ञवालीले उक्त प्रतिवेदन तयार गरेका हुन्।

कार्यदलको बैठकपछि आजै दिउँसो १ बजे केन्द्रीय सचिवालय बैठक बस्नेछ। सचिवालय बैठकले भोलि ५ असोजदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकमा पेस गर्ने एजेन्डा तय गर्नेछ। केन्द्रीय कमिटी बैठक ७ असोजसम्म ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बस्ने तालिका छ।

२१ फागुनको निर्वाचनमा अपेक्षाकृत कमजोर नतिजा आएपछि एमालेभित्र पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनबारे बहस सुरु भएको थियो। त्यसपछि उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसहितका नेताहरूले पुनर्गठनको बहस अघि बढाएका थिए।

बहसलाई व्यवस्थित रूपमा छलफल गर्न उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल गठन गरिएको थियो। कार्यदलले सातै प्रदेशमा पुगेर नेता तथा कार्यकर्ताको धारणा संकलन गरेको थियो।

त्यसपछि महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा अध्यक्ष ओलीले पद छाडेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने विषय समेटिएको थियो। त्यसमा अध्यक्ष ओली असन्तुष्ट भएपछि उनको निर्देशनमा कार्यदल संयोजक बादलले अर्को प्रतिवेदन तयार गरेका थिए, जसमा ओलीले नेतृत्व छाड्न नहुने धारणा राखिएको थियो।

दुवै प्रतिवेदनबीच सहमति जुटाउने प्रयास सफल नभएपछि ओलीको निर्देशनमा नेता प्रदीप ज्ञवालीले नयाँ प्रतिवेदन तयार गरेका हुन्। ज्ञवालीको प्रतिवेदनमा पुनर्गठन पक्षधर नेताहरू असन्तुष्ट रहेको एमाले स्रोतको दाबी छ।

यससँगै एमालेको नेतृत्व र पार्टी पुनर्गठनसम्बन्धी विवाद अब केन्द्रीय कमिटी बैठकमा समेत छलफलको विषय बन्ने देखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend