logo आइतबार, असोज ४ २०८३ | Sunday 20th September 2026

नेपालमा लगानी गर्ने उपयुक्त समय हो : भारतीय लगानीकर्तालाई अर्थमन्त्री वाग्लेको आह्वान


  • जन आकाश
  • आइतबार, असोज ४ २०८३

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी र व्यापारका अवसर खोजी तथा विस्तार गर्न आह्वान गरेका छन्।



नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)ले आयोजना गरेको व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले नेपालमा लगानीका लागि अहिले उपयुक्त समय रहेको बताएका हुन्।

वाग्लेले नेपालमा उच्च आर्थिक वृद्धिको सम्भावना भएका विभिन्न क्षेत्रमा लगानीका अवसर रहेको उल्लेख गर्दै नेपालमा सञ्चालनमा रहेका भारतीय कम्पनीलाई लगानी विस्तार गर्न र नयाँ लगानीकर्तालाई नेपाली बजारको खोजी गर्न आग्रह गरे।

उनले नेपाल सरकार सुशासन, आर्थिक समृद्धि, लगानी सहजीकरण र संरचनात्मक आर्थिक रूपान्तरणको एजेन्डामा अघि बढिरहेको बताए। साथै, नीतिगत सुधारलाई तीव्र बनाउँदै थप अनुमानयोग्य, पारदर्शी र लगानीमैत्री व्यवसायिक वातावरण निर्माणका लागि सरकारले काम गरिरहेको जानकारी दिए।

डिजिटलाइजेसन, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, वेलनेस पर्यटन र उत्पादन क्षेत्रलाई नेपालको अर्थतन्त्रका महत्वपूर्ण सम्भावनायुक्त क्षेत्रका रूपमा प्रस्तुत गर्दै वाग्लेले भारतीय व्यवसायीलाई नेपाललाई बजारका रूपमा मात्र नभई लगानी, उत्पादन, मूल्य अभिवृद्धि तथा क्षेत्रीय र विश्वव्यापी आपूर्ति शृंखलामा जोडिने रणनीतिक साझेदारका रूपमा हेर्न आग्रह गरे।

उनले लगानी, उत्पादन, ऊर्जा, पर्यटन, कृषि र डिजिटल अर्थतन्त्रलगायत क्षेत्रमा नेपाल–भारत आर्थिक साझेदारी विस्तारको ठूलो सम्भावना रहेको बताए। नेपाल र भारतबीचको दीर्घकालीन आर्थिक सम्बन्धले द्विपक्षीय व्यापार तथा लगानी विस्तारका लागि बलियो आधार तयार गरेको उनको भनाइ थियो।

कार्यक्रममा सहभागी भारतीय व्यवसायी तथा सीआईआईका सदस्यहरूले नेपालमा व्यापार तथा लगानीका अवसरबारे रुचि व्यक्त गर्दै लगानी नीति, सुविधा, क्षेत्रगत अवसर र व्यवसायिक वातावरणबारे अर्थमन्त्रीसँग जानकारी लिएका थिए।

अर्थमन्त्री वाग्ले भारतको तीन दिने औपचारिक भ्रमणमा छन्। भ्रमणका क्रममा उनले नेपाल–भारत आर्थिक सहकार्य, लगानी, कनेक्टिभिटी, ऊर्जा तथा विपद्पछिको पुनर्निर्माणलगायत विषयमा भारतीय अधिकारी, व्यवसायी तथा नीतिगत समुदायसँग छलफल गरिरहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend