जन आकाश
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संविधानले परिकल्पना गरेको विविधताबीचको एकता, विभेद तथा असमानताको अन्त्य, सामाजिक न्याय र समतामूलक समाज निर्माणका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
संविधान दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री शाहले संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको बताए। उनले संविधानले नेपाली जनतासँग विविधताबीचको एकता कायम गर्ने, सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्ने तथा विकास, समृद्धि र सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको बताए।
प्रधानमन्त्री शाहले बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी शासनलाई सरकारका लागि केवल सर्तका रूपमा नभई राष्ट्रिय जीवनका आधारका रूपमा लिनुपर्नेमा जोड दिए। उनले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हात इमानदार र क्रियाशील नभए संविधान कागजमा मात्र सीमित हुने बताए।
प्रधानमन्त्री शाहले राजनीतिक व्यवस्था परिवर्तन तथा सुशासनको माग गर्दै भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएका ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरे। उनले हालै भएको ‘जेन्जी आन्दोलन’मा ज्यान गुमाएका युवाप्रति पनि श्रद्धाञ्जली अर्पण गरे। त्यसैगरी, हालैको भोटेकोसी बाढीमा परी ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति पनि प्रधानमन्त्री शाहले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend