logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै


  • जन आकाश
  • आइतबार, असोज ४ २०८३

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल आज आइतबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्।



परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्। साथै उनले विभिन्न देशका समकक्षी तथा विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री बालेन्द्र शाह भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार असोज ६ गते अमेरिका प्रस्थान गर्नेछन्। उनले असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाहको नेतृत्वमा जाने १४ सदस्यीय प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी हुनेछन्।

अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा नेपाल फर्किनेछन् भने परराष्ट्रमन्त्री खनाल त्यसको तीन दिनपछि स्वदेश फर्किने कार्यक्रम रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend