जन आकाश
काठमाडौं । नेपाली कांग्रेसले ४३ जिल्लाका ३ हजार ३ सय ९६ वडामा वडा अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनबाट वडा तहको नेतृत्वसमेत निर्वाचित भएको कांग्रेसले जनाएको छ।
कांग्रेसका सदस्यसचिव राजु कटुवालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै वडा अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा प्रारम्भ भएको बताएका छन्।
कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म आयोजना गर्दैछ। सोही महाधिवेशनअन्तर्गत वडा अधिवेशन प्रक्रिया अघि बढाइएको हो।
कांग्रेसका अनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलाली गरी ४३ जिल्लाका ३ हजार ३ सय ९६ वडामा अधिवेशन तथा निर्वाचन सम्पन्न भएको हो।
केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिकाअनुसार रसुवा, नुवाकोट र धादिङबाहेक अन्य ३१ जिल्लाका वडा अधिवेशन असोज ४ गते पनि जारी रहने कांग्रेसले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend