जन आकाश
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले मधेसलाई जात, धर्म, भूगोल वा राजनीतिको नाममा विभाजित गरेर द्वन्द्वको मैदान बनाउन नहुने बताएका छन्।
आइतबार जनकपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै सिंहले अबको राजनीति समाजलाई जोड्ने, एकता कायम गर्ने र आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्ने बताए। उनले आफ्नो आगामी यात्रा एकता र समृद्धिको सन्देशसहित जनतासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले अघि बढाउने बताए।
सिंहले जनकपुरस्थित गंगासागरमा अर्घ दिएर जानकी मन्दिरको दर्शन गरेपछि झापाको भद्रपुरबाट मेची–महाकाली पैदल यात्रा सुरु गर्ने घोषणा गरेका छन्। उनका अनुसार यात्रा गाडी वा रथमा नभई पैदल हुनेछ।
पदयात्राका क्रममा गाउँ–गाउँ र टोल–टोल पुगेर स्थानीयका समस्या सुन्ने तथा जनतासँग प्रत्यक्ष संवाद गर्ने उनको भनाइ छ। युवाको विदेश पलायन, वैदेशिक रोजगारी, किसान तथा मजदुरका समस्या, व्यापारीका समस्या र मधेसको अर्थतन्त्रका विषयमा स्थानीयसँग छलफल गर्ने उनले बताए।
सीमावर्ती क्षेत्रका नागरिकका समस्या, सीमापार व्यापार, पारिवारिक तथा सामाजिक सम्बन्ध र सुरक्षाका विषयसमेत यात्राका क्रममा उठाउने सिंहले बताए।
मधेसको विकासका लागि शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, शान्ति–सुरक्षा र सरसफाइलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ। उनले सरकारी विद्यालयको गुणस्तर सुधार तथा सरकारी अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्नुपर्ने बताए।
सिंहले मधेसमा सरकारी मेडिकल, इन्जिनियरिङ तथा कृषि कलेज विस्तार गर्नुपर्नेमा जोड दिए। सडक तथा सिँचाइतर्फ हुलाकी राजमार्गको पूर्णता, पुल तथा पूर्वाधार निर्माण र खेतसम्म पर्याप्त सिँचाइ सुविधा पुर्याउनुपर्ने उनले बताए।
उनले विकासका नाममा केवल भौतिक संरचना निर्माण गर्नेभन्दा स्थानीय आवश्यकता र वातावरणीय प्रभावलाई ध्यान दिएर योजना बनाउनुपर्ने बताए।
मधेस आन्दोलनको उद्देश्य राजनीतिक नेतृत्व निर्माण वा संविधानमा केही विषय समेट्ने मात्र नभई आर्थिक विकास, राजनीतिक सहभागिता र समान अवसर सुनिश्चित गर्नु पनि रहेको सिंहको भनाइ छ। मधेसको वर्तमान अवस्थाका लागि काठमाडौंलाई मात्र दोष दिन नहुने भन्दै उनले मधेसका राजनीतिक नेतृत्व र स्थानीय तहले पनि आफ्ना कमजोरीको समीक्षा गर्नुपर्ने बताए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend