logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४११ पुग्यो, ५ हजार ८७५ अझै बेपत्ता


  • जन आकाश
  • सोमबार, असोज ५ २०८३

काठमाडौं । रसुवासहित विभिन्न जिल्लामा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ४११ जनाको मृत्यु भएको पुष्टि भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार साँझ ७ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढीबाट भएको मानवीय क्षति तथा उद्धारको तथ्यांक सार्वजनिक गरेको हो।



प्राधिकरणका अनुसार फेला परेका मृतकमध्ये ५४९ पुरुष, ३३६ महिला र ५२६ वटा आंशिक मानव अंग रहेका छन्। बाढीमा परी अझै ५ हजार ८७५ जना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ।

संकलित विवरणअनुसार सबैभन्दा धेरै चितवनमा ३६४ जनाको मृत्यु भएको छ। नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०३, रसुवामा १९९, गोरखामा ७२, धादिङमा ७२ तथा तनहुँमा ३८ जनाको मृत्यु भएको पुष्टि भएको छ।

खोजी तथा उद्धारका क्रममा हालसम्म १३ हजार ७८४ जनाको सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

उद्धार कार्यमा नेपाली सेनाले हालसम्म १ हजार ६९२ वटा हवाई उडान तथा सशस्त्र प्रहरी बलले ३२० वटा हवाई उडान सम्पन्न गरेका छन्। प्राधिकरणका अनुसार बेपत्ताको खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend