logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

कृष्णभिरको पहिरो दीर्घकालीन रूपमा रोक्न सुरुङ वा भायोडक्ट बनाउने तयारी


  • जन आकाश
  • सोमबार, असोज ५ २०८३

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभिरमा हुने पहिरो तथा सडक अवरोधको दीर्घकालीन समाधानका लागि सरकारले सुरुङ वा भायोडक्ट निर्माण गर्ने विकल्पमा प्राविधिक अध्ययन सुरु गरेको छ।



सडक विभागका महानिर्देशक डा. विजय जैशीले सोमबार पूर्वाधार विकास समितिको बैठकमा कृष्णभिरको समस्या समाधानका लागि दुई विकल्पमा अध्ययन अघि बढाइएको जानकारी दिएका हुन्।

उनका अनुसार कृष्णभिर क्षेत्रमा सुरुङ निर्माण गर्ने वा भिरको अगाडितर्फ भायोडक्ट निर्माण गरी सडक जोड्ने विकल्पमा अध्ययन भइरहेको छ। भायोडक्ट भने पिल्लरमाथि पुलजस्तो संरचना बनाएर सडक लैजाने प्रविधि हो।

प्राविधिक अध्ययन सुरु भइसकेको र करिब दुई महिनाभित्र प्रतिवेदन तयार हुने जैशीले बताए। प्राविधिक प्रतिवेदन प्राप्त भएपछि निर्माणका लागि ठेक्का प्रक्रियामा जाने विभागको तयारी छ।

‘कृष्णभिरमा दीर्घकालीन समाधानका लागि भित्रबाट टनेल खन्ने अथवा अगाडितिर भायोडक्ट बनाएर जोड्ने गरी अध्ययन सुरु भइसकेको छ,’ जैशीले समितिमा भने, ‘दुई महिनाजतिमा प्राविधिक रिपोर्ट आउँछ। त्यसपछि हामी ठेक्कामा जान्छौँ।’

कृष्णभिरमा पटक–पटक पहिरो जाँदा पृथ्वी राजमार्गमा यातायात प्रभावित हुँदै आएको छ। गत भदौ १० गतेको भोटेकोशी–रसुवा बाढीपछि साविक सडकको केही भागसमेत क्षतिग्रस्त भएको थियो। भदौ १४ गते कृष्णभिर खण्डको सडक भत्किएपछि यातायात सञ्चालनमा थप समस्या आएको थियो।

तत्कालका लागि भत्किएको सडकको माथिल्लो भागबाट ट्र्याक खोलेर सवारीसाधन सञ्चालनको व्यवस्था मिलाइएको छ। दीर्घकालीन समाधानका लागि विभागले वैकल्पिक सडक निर्माणको कामसमेत अघि बढाएको जनाएको छ।

जैशीका अनुसार फिस्लिङ र बेनिघाटतर्फ पुल पारिपारि सडक लैजाने वैकल्पिक मार्ग निर्माणको काम पनि सुरु भइसकेको छ। फिस्लिङतर्फ करिब १.५ किलोमिटर भिर काट्ने काम भइरहेको उनले बताए।

वैकल्पिक सडक निर्माण सम्पन्न भएपछि पृथ्वी राजमार्गको मुख्य खण्डमा समस्या आए पनि वैकल्पिक मार्गबाट यातायात सञ्चालन गर्न सकिने विभागको अपेक्षा छ।

‘साढे एक किलोमिटर फिस्लिङतिर भिर काट्ने काम सुरु भइसकेको छ,’ जैशीले भने, ‘यो भिर काटिसकेपछि राजमार्गमा धेरै दुःख दिए पनि छिटो यातायात सञ्चालन गर्न सकिने गरी काम भइरहेको छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend