जन आकाश
काठमाडौं — नेकपा एमालेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको १५ सदस्यीय कार्यदलले तयार पारेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्जागरणसम्बन्धी प्रतिवेदन सुझावसहित पारित गरेको छ।
केन्द्रीय कमिटी बैठकअघि सोमबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सचिवालय सदस्यहरूले दिएका सुझावसमेत समेटेर प्रतिवेदन पारित गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
भट्टका अनुसार प्रतिवेदनमा पार्टी अध्यक्षले राजीनामा दिनुपर्ने वा विशेष महाधिवेशन बोलाउनुपर्ने विषय समावेश गरिएको छैन। त्यसैले यी विषयलाई प्रतिवेदनको अनुसूचीका रूपमा छुट्टै राख्नुपर्ने अवस्था नरहेको उनले बताए।
यसअघि निर्वाचन समीक्षाका क्रममा तीनवटा छुट्टाछुट्टै प्रतिवेदन तयार भएका थिए। ती सबै प्रतिवेदनलाई समेटेर कार्यदलले एकीकृत प्रतिवेदन तयार पारेको हो। कार्यदलले २९ पृष्ठको प्रतिवेदन तयार गरेको थियो।
सचिवालय बैठकपछि एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ। उक्त बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्जागरणसम्बन्धी प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend