logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

एमाले कार्यदलको प्रतिवेदन केन्द्रीय कमिटीमा लैजान ओलीको अस्वीकार, सचिवालय बैठक निष्कर्षविहीन


  • जन आकाश
  • सोमबार, असोज ५ २०८३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी समीक्षा तथा पार्टी पुनर्गठनका विषयमा अध्ययन गर्न गठित कार्यदलले तयार पारेको प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा लैजान अस्वीकार गरेका छन्।



सोमबार बिहान बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डासमेत तय गर्न नसकेको एक पदाधिकारीले जानकारी दिएका छन्।

आइतबार बसेको कार्यदलको बैठकले प्रदीप ज्ञवालीले तयार पारेको २९ पृष्ठको प्रतिवेदनलाई परिमार्जन गरी सचिवालयमा पेस गरेको थियो। तर, अध्यक्ष ओलीले तल्लो तहबाट प्राप्त सुझावलाई प्रतिवेदनको अनुसूचीमा समेट्न असहमति जनाएका थिए।

केही पदाधिकारीको आग्रहपछि ओली प्रतिवेदन बुझ्न तयार भए पनि सोमबारको सचिवालय बैठकमा त्यसलाई केन्द्रीय कमिटीमा लैजाने विषयमा सहमति जुट्न सकेन।

एक पदाधिकारीका अनुसार सोमबार बिहान करिब १० बजे बसेको सचिवालय बैठक कुनै निर्णयमा नपुगी सकिएको हो।

‘सचिवालयले केही निर्णय गर्न सकेन। हिजो सचिवालयमा पेस भएको प्रतिवेदन पनि केन्द्रीय कमिटीमा लैजान अध्यक्ष तयार हुनुभएन,’ ती पदाधिकारीले भने, ‘अब केन्द्रीय कमिटीमा कस्तो वातावरण बन्छ, त्यसपछि मात्र थाहा हुन्छ। अहिले कुनै स्थिति बनेको छैन।’

कार्यदलका सदस्यसमेत रहेका अर्का पदाधिकारीले पनि सचिवालय बैठकले कुनै निर्णय गर्न नसकेको बताए। उनका अनुसार केन्द्रीय कमिटी बैठकका एजेन्डासमेत तय हुन सकेको छैन।

‘केन्द्रीय कमिटी बैठकको एजेन्डा पनि आएन,’ उनले भने, ‘अब अध्यक्षलाई जे लाग्छ, त्यहीअनुसार केन्द्रीय कमिटी बैठकमा एजेन्डा बनाएर ल्याउनुहुन्छ होला।’

एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको झम्सीखेलमा सुरु हुँदैछ। सचिवालय बैठक निष्कर्षविहीन भएपछि अध्यक्ष ओलीसहित सचिवालयका सदस्यहरू केन्द्रीय कमिटी बैठकस्थल पुगिसकेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend