logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

दिल्ली पुग्न सस्तो, सुदूरपश्चिम पुग्न महँगो’, हवाई भाडामाथि सांसद अवस्थीको व्यंग्य


  • जन आकाश
  • सोमबार, असोज ५ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आकृति अवस्थीले चाडपर्व र विपद्का बेला बढ्ने हवाई भाडालाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहको चुनावी नारालाई उद्धृत गर्दै व्यंग्य गरेकी छन्।



प्रतिनिधिसभाको बैठकमा आन्तरिक उडानमा हुने उद्घोषणकै शैलीमा धारणा राख्दै अवस्थीले हवाई भाडा महँगो हुँदा सर्वसाधारणले घर फर्किनसमेत कठिनाइ भोग्नुपरेको बताइन्।

प्रधानमन्त्री शाहले चुनावी प्रचारका क्रममा प्रयोग गरेको ‘सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई’ भन्ने वाक्यलाई उद्धृत गर्दै उनले सुदूरपश्चिम पुग्न सहज र सस्तो हुने वातावरण बनाउन आग्रह गरिन्। उक्त वाक्य शाहले चुनावअघि सुदूरपश्चिमसँग सम्बन्धित सन्दर्भमा प्रयोग गरेको सार्वजनिक सामग्रीमा पनि उल्लेख छ।

अवस्थीले भनिन्, ‘पहिले नेपालमा सडक सञ्जाल नहुँदा एक ठाउँबाट अर्को ठाउँ जान भारत हुँदै जानुपर्थ्यो। अहिले जब विपद् पर्छ र चाडपर्व आउँछ, दिल्ली पुग्न सस्तो, आफ्नै सुदूरपश्चिम पुग्न महँगो। दिल्लीभन्दा सुदूरपश्चिमलाई नजिक बनाइदिनुस्।’

उनले हवाई भाडा वृद्धिप्रति व्यंग्य गर्दै यात्रुलाई विमानको सिट बेल्ट बाँध्न आग्रह गरे पनि ‘जहाजभन्दा छिटो हवाई भाडा माथि उडिरहेको’ टिप्पणी गरिन्।

अवस्थीले दशैंका बेला यात्रुको चाप बढ्दा र बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा हवाई भाडा थप महँगो हुने गरेको उल्लेख गरिन्। एयरलाइन्सले यसलाई ‘डिमान्ड एन्ड सप्लाई’ का रूपमा व्याख्या गर्न सक्ने भए पनि नागरिकका लागि यो बाध्यताको मूल्य बन्न नहुने उनको भनाइ थियो।

उनले एयरलाइन्स कम्पनीहरूलाई लक्षित गर्दै भनिन्, ‘जहाज उडाउनुस्, भाडा होइन। नाफा कमाउनुस्, नागरिकको बाध्यता होइन।’

अवस्थीले सुदूरपश्चिमका नागरिकले चाडपर्वमा सहज रूपमा घर फर्किन सक्ने गरी हवाई भाडा व्यवस्थापन तथा नियमन गर्न सरकारको ध्यानाकर्षण गराइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend