logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री बालेनले कांग्रेस नेतासँग गरे छलफल


  • जन आकाश
  • सोमबार, असोज ५ २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जानुअघि नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरेका छन्।



प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार प्रधानमन्त्री शाहले कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँग भेटवार्ता गरेका हुन्।

संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफलका लागि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिलाई बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा कांग्रेसका तर्फबाट महासभामा प्रधानमन्त्रीले उठाउनुपर्ने विषयबारे पार्टीको धारणा प्रस्तुत गरिएको उपसभापति शर्माले जानकारी दिए।

‘पार्टी सभापति गगन थापा र सिंगो कांग्रेसको धारणा हामीले प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका छौँ। प्रधानमन्त्रीको साथमा सिंगो देश छ भन्ने सन्देश पनि हामीले दिन चाहेका छौँ,’ शर्माले भने।

उनले भोटेकोशी बाढीपहिरोबाट भएको क्षतिलाई अन्तर्राष्ट्रियकरण गर्दै विश्वको ध्यानाकर्षण गराउन प्रधानमन्त्री सफल हुने अपेक्षा रहेको बताए।

‘भोटेकोशी विपद्लाई अन्तर्राष्ट्रियकरण गर्ने र प्रधानमन्त्रीले विश्वको ध्यानाकर्षण गर्न सफल हुनुहोस् भन्ने हाम्रो अपेक्षा छ। अमेरिकालाई बताउँदै गर्दा भोटेकोशी बुझ्दै गर्दा टेक्ससको पीडा सम्झियोस्,’ शर्माले भने।

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन मंगलबार अपराह्न संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend