जन आकाश
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका तीनै जना बहिनी पक्राउ परेका छन्। पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले इमरान खानको रिहाइको माग गर्दै सेप्टेम्बर २७ मा देशव्यापी प्रदर्शन तथा इस्लामाबाद मार्चको घोषणा गरेपछि उनका बहिनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा अलीमा खान, उज्मा खानुम र नुरिन नियाजी छन्। उनीहरू औपचारिक रूपमा पीटीआईको राजनीतिक जिम्मेवारीमा नरहे पनि इमरान खानको रिहाइको पक्षमा सार्वजनिक रूपमा आवाज उठाउँदै आएका छन्।
लाहोर जिल्ला प्रशासनले अलीमालाई सार्वजनिक सुरक्षा र कानुन व्यवस्था कायम राख्न उनको सार्वजनिक उपस्थितिले ‘गम्भीर खतरा’ निम्त्याउन सक्ने भन्दै ३० दिन हिरासतमा राख्ने आदेश दिएको छ। उनलाई कोट लखपत जेल पठाइएको छ।
त्यसको केही समयपछि उज्मा र नुरिनलाई पनि ‘मेन्टेनेन्स अफ पब्लिक अर्डर’ (एमपीओ) कानुनअन्तर्गत ३० दिनका लागि हिरासतमा लिइएको पीटीआईले जनाएको छ। उनीहरूलाई पनि कोट लखपत जेल पठाइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
पीटीआईले पक्राउलाई राजनीतिक प्रतिशोध र अधिकारको दुरुपयोग भन्दै विरोध गरेको छ। पार्टी प्रवक्ता शेख वकास अक्रमले अलीमासहित परिवारका अन्य सदस्यलाई समेत नियन्त्रणमा लिइएको दाबी गरेका छन्। अलीमाका छोरा शेरशाह खानले घर वरिपरि सुरक्षाकर्मी परिचालन गरी सडक बन्द गरिएको र परिवारलाई घरमै नजरबन्दजस्तो अवस्थामा राखिएको बताएका थिए।
पीटीआईले इमरान खानको रिहाइ तथा संविधानको सर्वोच्चता कायम गर्न माग गर्दै सेप्टेम्बर २७ मा देशव्यापी प्रदर्शन र इस्लामाबाद मार्च गर्ने घोषणा गरेको छ। पार्टीले हालैका कानुन तथा संवैधानिक संशोधनले न्यायपालिकालाई कमजोर बनाएको आरोपसमेत लगाउँदै आएको छ।
सरकारले भने प्रस्तावित मार्च रोक्ने तयारी गरेको छ। गृहमन्त्री मोहसिन नक्वीले इस्लामाबादतर्फको मार्च रोक्न सरकारले आवश्यक सबै कदम चाल्ने बताएका छन्। प्रदर्शनलाई ध्यानमा राखेर इस्लामाबाद र पञ्जाबमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको तथा सडकमा कन्टेनर राखेर सम्भावित प्रदर्शनकारीको आवागमन रोक्ने तयारी गरिएको छ।
इमरान खान करिब तीन वर्षदेखि जेलमा छन्। उनीमाथि भ्रष्टाचारदेखि आतंकवादसम्मका विभिन्न मुद्दा चलाइएको छ। पीटीआईले ती मुद्दा राजनीतिक उद्देश्यबाट प्रेरित भएको आरोप लगाउँदै आएको छ। उनका अधिकांश फैसलाहरू अपिलपछि निलम्बित वा उल्टिएका छन्। उनकी पत्नी बुशरा बीबी पनि जेलमा छिन्।
इमरानसँग भेट्न उनका बहिनीहरूलाई अनुमति दिइँदै आएको थियो। उनीहरूले जेलमा भेटेर उनका सन्देश सञ्चारमाध्यम तथा समर्थकसम्म पुर्याउँदै आएका थिए। पछिल्ला पक्राउसँगै सेप्टेम्बर २७ को प्रस्तावित आन्दोलनअघि पाकिस्तानमा राजनीतिक तनाव थप बढेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend