logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

प्रधानमन्त्री बालेन शाह आज अमेरिका प्रस्थान गर्दै


  • जन आकाश
  • मंगलबार, असोज ६ २०८३

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्। प्रधानमन्त्री शाहले उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जान लागेका हुन्।



प्रधानमन्त्री शाह आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडानमार्फत अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। उनको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियारलगायत रहनेछन्।

प्रधानमन्त्री शाहले यही असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सामान्य बहसलाई सम्बोधन गर्नेछन्। ८१औँ महासभाको सामान्य बहस सेप्टेम्बर २२ देखि २६ र त्यसपछि सेप्टेम्बर २८ सम्म सञ्चालन हुँदैछ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ। नेपालका तर्फबाट महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका असर तथा जलवायु न्यायका विषय उठाउने तयारी गरिएको छ।

प्रधानमन्त्री शाहको यो पहिलो विदेश भ्रमण हो। परराष्ट्र मन्त्रालयका अनुसार उनी सेप्टेम्बर २६ अर्थात् असोज १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend