logo मंगलबार, असोज ६ २०८३ | Tuesday 22nd September 2026

संसदमा नियमापत्तिमाथि नियमापत्ति 


  • जन आकाश
  • मंगलबार, असोज ६ २०८३

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय चलिरहेका बेला सांसदहरूबीच नियमापत्तिमाथि नियमापत्ति भएको छ।



विशेष समयमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले धारणा राख्दै नेपालको न्यायालयले दुई तिहाइको सरकारलाई काम गर्न नदिएको आरोप लगाए।

उनले सरकारका सुधारका प्रयासमा अदालतले अवरोध सिर्जना गरेको दाबी गर्दै न्यायालयले परिवर्तनलाई आत्मसात् गर्न नसकेको बताए। ट्रेड युनियन तथा क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनसम्बन्धी व्यवस्थामा कानुनी सुधार गर्न खोज्दा अदालतले रोक लगाएको उनको भनाइ थियो।

न्यौपानेको अभिव्यक्तिप्रति नेकपा एमालेका सांसद गुरु बरालले नियमापत्ति जनाए। उनले न्यायालयको कामकारबाहीमाथि प्रश्न उठाउन नपाइने भन्दै न्यौपानेले अदालतप्रति लगाएको आक्षेपपूर्ण अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरे।

त्यसपछि न्यौपानेले बरालको नियमापत्तिमाथि पुनः नियमापत्ति जनाउँदै विपक्षी दलमाथि टिप्पणी गरे। उनले भने, विपक्षीलाई अदालत पाल्न परेको छ। अनि किन नियमापत्ति गर्नुहुन्न त?’

यससँगै प्रतिनिधिसभाको बैठकमा सांसदहरूबीच न्यायालयको भूमिका र सरकारका निर्णयमा अदालतको हस्तक्षेपसम्बन्धी विषयलाई लिएर केही समय आरोप–प्रत्यारोप चलेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend