logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

एमालेमा गम्भीर समीक्षा र रूपान्तरणको माग, ‘सत्ता जाने कार्यनीति’ बदल्न विष्णु रिजालको आग्रह


  • जन आकाश
  • बिहिबार, असोज ८ २०८३

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीको समग्र नीति, रणनीति, कार्यनीति र सांगठनिक संरचनाको गम्भीर समीक्षा गर्दै ठोस रूपान्तरणको कदम चाल्नुपर्ने बताएका छन्।



बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै रिजालले अध्यक्षको प्रतिवेदनको समर्थन गर्दै पार्टी जीवन र राष्ट्रिय राजनीतिसँग जोडिएका आठ महत्वपूर्ण विषयमा गहन छलफल आवश्यक रहेको बताएका हुन्।

निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी अध्यक्षले लिएर प्रस्तुत गरेको मार्गचित्र तथा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको व्याख्याले शीर्ष नेताबीच देखिएको अविश्वास र आशंका अन्त्य गर्न सहयोग गरेको रिजालले बताए।

उनले आगामी स्थानीय तह निर्वाचनलाई पार्टीको मुख्य कार्यभार बनाउनुपर्ने भन्दै केन्द्रीय कमिटी सदस्यलाई आफ्नै पालिका जिताउने जिम्मेवारी दिनुपर्ने प्रस्ताव गरे। उम्मेदवार छनोट प्रक्रियादेखि नै केन्द्रीय सदस्यलाई संस्थागत रूपमा सहभागी गराउनुपर्ने उनको भनाइ छ।

भदौ २३–२४ को घटनाक्रममा नेतृत्वको सुरक्षाका लागि नेपाली सेनाले खेलेको भूमिकालाई सकारात्मक रूपमा लिँदै रिजालले संसदमा एमालेको प्रस्तुतिले सेनासँग टकराव बढेको जस्तो देखिएको बताए। त्यसैले सेनाप्रतिको पार्टीको आधिकारिक दृष्टिकोण स्पष्ट पार्नुपर्ने उनको धारणा छ।

रिजालले एमालेलाई आधुनिक पार्टीका रूपमा विकास गर्न भौतिकसँगै डिजिटल मोर्चालाई पनि चुस्त बनाउनुपर्ने बताए। केन्द्रमा २४ घण्टा सक्रिय रहने डिजिटल विभाग गठन गरी प्रदेश र स्थानीय तहसम्म प्रभावकारी उपस्थिति बनाउनुपर्ने उनको प्रस्ताव छ।

त्यस्तै, नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्न विभागहरूमा ५० प्रतिशतसम्म दक्ष तथा युवा जनशक्ति समेट्ने गरी पुनर्गठन गर्नुपर्ने उनले बताए। ‘निर्णायक राष्ट्रिय शक्ति’, ‘दुई दलीय व्यवस्था’ लगायतका नारा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिको एमालेको नीतिबाट हुने फाइदा–घाटाको समेत निर्मम समीक्षा गर्नुपर्ने रिजालको भनाइ छ।

उनले २०४७ सालयता १७ वटा सरकारमा सहभागिता जनाउँदै सात पटक सरकारको नेतृत्व गरेको एमालेको कार्यशैलीमाथि पनि प्रश्न उठाए। जहिले र जोसँग पनि सत्तामा जाने कार्यनीतिले पार्टीलाई ‘सत्ता बजारको उपभोक्ता’ मात्र बनाएको उनको टिप्पणी छ।

रिजालले अब या त सत्तामा जाने कार्यनीति परिवर्तन गर्नुपर्ने वा पार्टीको समाजवाद–साम्यवादको रणनीतिमै पुनर्विचार गर्नुपर्ने धारणा राखेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend